• ३ जेठ २०८३, आइतबार

स्कुल बस दुर्घटना हुँदा तीनको मृत्यु, ३९ जना घाइते

blog

फाइल तस्बिर

उदयपुर, मङ्सिर ९ गते । त्रियुगा नगरपालिका-५ देउरीको अन्नपूर्ण स्कुलको बस आज दिउँसो उदयपुरगढी गाउँपालिका-७ अँधेरीमा दुर्घटना हुँदा बस चालकसहित तीनको मृत्यु भएको छ भने बसमा सवार ३९ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार वनभोजबाट फर्कने क्रममा बस दुर्घटना भएको हो । दुर्घटनामा परी बस चालक ४० वर्षीय भिखन चौधरीको घटनास्थलमा नै मृत्यु भएको छ । साथै, सात वर्षे सन्ध्या चौधरी र छ वर्षे विकास चौधरीको मृत्यु भएको छ । 

घाइते विद्यार्थीको जिल्ला प्रहरी र स्थानीयको सहयोगमा जिल्ला अस्पताल उदयपुर ल्याइ उपचार सुरु गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरिनन्दन चौधरीले बताउनुभयो । गम्भीर घाइते पाँच जनालाई थप उपचारका लागि विराटनगर पठाइएको छ । रासस