• १९ असार २०८१, बुधबार

उद्योग दिवसमा उद्यमीलाई सम्मान

blog

उद्योग दिवसको अवसरमा सम्मानित हुँदै उद्योगीहरु । तस्बिर : लीलाधर वली

लीलाधर वली

घोराही, मङसिर ९ गते । दाङमा उद्योग दिवसका अवसरमा उद्यमीलाई आज सम्मान गरिएको छ । यससँगै दिवसको अवसरमा वृक्षारोपण पनि गरिएको छ । घरेलु तथा साना उद्योग कार्यालयले शनिबार पुष्प व्यवसायीलाई सम्मानसँगै कार्यालयको प्राङ्गणमा विभिन्न फूल प्रजातिका बिरुवाहरू वृक्षारोपण गरेर उद्योग दिवस मनाएको हो । 

कार्यक्रम गरेर भाषण गर्नुभन्दा पुष्प व्यवसायीलाई प्रोत्साहनसँगै घरेलु तथा साना उद्योग कार्यालयको प्राङ्गणलाई राम्रो बनाउने उद्देश्यअनुसार वृक्षा रोपण गरिएको घरेलु तथा साना उद्योग कार्यालय दाङका कार्यालय प्रमुख युवराज न्यौपानेले जानकारी दिनुभयो ।  

उहाँले भन्नुभयो, ‘औपचारिक भाषण गर्नुभन्दा पुष्प व्यवसायीलाई प्रोत्साहन र कार्यालयको प्राङ्गणलाई आकर्षक बनाउने उद्देश्यले फूलका बिरुवा रोपेका छौ ।’ उहाँका अनुसार कार्यालयको घोराही उपमहानगरपालिका –१४ झिंगौरामा पुष्प व्यवसाय गर्दै आउनुभएका जलजला फूल खेती फर्मका सञ्चालक लोकेन्द्र रोकालाई सम्मान गरेको हो । 

पुष्प व्यवसाय सञ्चालन गरी राम्रो आम्दानी गर्न सफल भएको र अरूका लागि प्रेरणादायी बनेको भन्दै कार्यालयले उद्योग दिवसका अवसरमा सम्मानित गरेको कार्यालय प्रमुख न्यौपानेले बताउनुभयो ।  

सम्मानित हुने पुष्प व्यवसायी रोकाले जिल्लामा करिब ८ वर्षदेखि पुष्प व्यवसाय गर्दै आउनुभएको छ । उहाँले पुष्प व्यवसायबाट मासिक एक लाख बढी आम्दानी गर्दै आउनुभएको छ । त्यसअवसरमा घरेलु तथा साना उद्योग कार्यालयले तयार पारेको घरेलु उद्योग तथा व्यवसायसम्बन्धी प्रोफाइल समेत सार्वजनिक गरिएको छ ।