• १९ असार २०८१, बुधबार

नेपालगन्ज औद्योगिक महोत्सव माघ २६ देखि

blog

नेपालगन्ज उद्योग वाणिज्य संघको कार्यालय भवन । तस्विर : सिराज खान

सिराज खान 

नेपालगन्ज, मङ्सिर ९ गते । नेपालगन्ज उद्योग वाणिज्य सङ्घले आगामी २६ माघदेखि नेपालगन्जमा १२ दिने औद्योगिक महोत्सव आयोजना गर्ने भएको छ । सङ्घका अध्यक्ष टङ्क धामीको अध्यक्षतामा सम्पन्न भएको बैठकले आगामी माघ २६ देखि फागुन ८ गतेसम्म नेपालगन्ज महोत्सव –२०८० आयोजना गर्ने निर्णय गरेको हो । 

नेपालगन्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष धामीले कोरोनाकाल यता नेपालगन्जमा सङ्घले महोत्सव गर्न नसकेको जनाउँदै यस वर्ष भव्य महोत्सवको आयोजना गर्ने योजना रहेको बताउनुभयो । 

उहाँले आर्थिक मन्दिरको यो समयमा महोत्सवले बाँकेको आर्थिक गतिविधिलाई चलायमान बनाउन ठुलो सहयोग गर्ने आशा रहेको जनाउँदै नयाँ तरिकाले यस पटक महोत्सवको आयोजना गरिने बताउनुभयो । 

महोत्सवमा बाँके र बर्दियालगायत यस क्षेत्रको आर्थिक विकासका सम्भावना र स्रोतको बारेमा पनि गम्भीरतापूर्वक विचार विमर्श गरेर निष्कर्षमा पुगिने सङ्घले जनाएको छ ।

सोही प्रकारले सङ्घको बैठकले नेपाल सरकारबाट नेपालगन्जस्थित सडक विभागको भोगाधिकार प्राप्त १० बिघा जग्गा पुनः प्राप्तिका लागि प्रक्रिया सुरु गर्ने निर्णय पनि गरेको छ ।  

व्यावसायिक केन्द्र निर्माणका लागि सरकारबाट लिजमा पाएको सो जग्गाको भोगचलन सम्बन्धमा विगतको सङ्घको कार्यसमितिले ध्यान नदिँदा सरकारले जग्गा फिर्ता लिएको थियो । 

यसैगरी सोही बैठकले सङ्घको नयाँ सदस्यताका लागि हालसम्म लिँदैआएको प्रवेश तथा वार्षिक सदस्यता शुल्क व्यापक रूपमा घटाउने निर्णय गरेको सङ्घका महासचिव भीमबहादुर रानाभाटले बताउनुभयो । 

उहाँले सदस्यतामा धेरैभन्दा धेरै उद्योगी व्यवसायीको पहुँच वृद्धि गर्न प्रवेश शुल्कमा ७९ प्रतिशतसम्म घटाएर समायोजन गरिएको बताउनुभयो । स्थानीय उद्योगी व्यवसायीद्वारा सदस्यता र प्रवेश शुल्क महँगो भएको भन्ने गुनासो आएकाले सो गुनासोलाई सम्बोधन गर्न शुल्क घटाइएको सङ्घले जनाएको छ ।