• २७ वैशाख २०८२, शनिबार

लैङ्गिक हिंसा अन्त्य गर्न सबै एक ठाउँमा उभिनु पर्छ : नगर प्रमुख पोख्रेल

blog

कमलमाई नगरपालिकामा शनिबार ‘लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियान’अन्तर्गत भएको कोण सभा । तस्बिर : बाबुराम देवकोटा

बाबुराम देवकोटा

सिन्धुलीमाढी, मङ्सिर ९ गते । सिन्धुली जिल्लामा विभिन्न स्थानीय तहमा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान शनिबारदेखि सुरु भएको छ । प्रभातफेरी, कोणसभा, अन्तरक्रियालगायतका कार्यक्रम गरी उक्त अभियान सुरु गरेको स्थानीय तहले जनाएका छन् ।

कमलामाई नगरपालिकामा प्रभातफेरीपछि सुरु भएको कोण सभालाई सम्बोधन गर्नु हुँदै उक्त नगरपालिकाका प्रमुख उपेन्द्रकुमार पोख्रेलले लैङ्गिक हिंसा अन्त्य गर्न सबै एक ठाउँमा उभिनु पर्ने बताउनुभयो ।

उहाँले कानुनले दिएको अधिकारभन्दा बाहिर गएर हुने सबैखाले हिंसा अन्त्य गर्न सबै नागरिक सचेत हुनु पर्ने बताउँदै हिंसा सम्बन्धी समाचार बन्न नदिन यस्ता खाले अभियानले सहयोग पुग्ने जिकिर गर्नुभयो ।

उहाँले सामाजिक संरचनाका कारणले महिलामाथि यौन हिंसा, बलात्कार लगायतका विभिन्न खाले हिंसा भइरहेकाले त्यस्ता हिंसाका घट्ना हुन नदिन १६ दिने अभियान मात्र नभई वर्षभरि नै लागि पर्नु पर्ने बताउनुभयो । ‘‘अहिले महिलामात्र होइन, पुरुषपनि हिंसामा पर्ने गरेका छन्’’ उहाँले भन्नुभयो, ‘‘१६ दिने अभियानको उद्देश्य पूरा गर्नका लागि सबै आआफ्नो ठाउँबाट एकजुट भएर लाग्नुपर्ने समय आएको छ ।’’

उक्त कोण सभालाई प्रमुख जिल्ला अधिकारी सुनिता नेपाल, कमलामाई नगरपालिका उपप्रमुख मञ्जु देवकोटा र जिल्ला समन्वय समिति उप–प्रमुख शान्ता कार्कीले सम्बोधन गर्नुहुँदै लैङ्गिक हिंसा अन्त्यका लागि सबै लागि पर्नु पर्ने बताउनुभयो ।

मरिण गाउँपालिकाले पनि उक्त अभियानअन्तर्गत प्रभातफेरी कार्यक्रम गरेको जनाएको छ । गाउँपालिका अध्यक्ष विमर्श मोक्तानले आइतबार बैठक राखी उक्त अभियान वडास्तरमा पनि १६ दिनसम्म सञ्चालन गर्ने बताउनुभयो । त्यस्तै फिक्कल गाउँपालिका अध्यक्ष पार्वती सुनुवारले लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान आइतबारदेखि सुरु हुने सुनाउनुभयो ।