• १५ मंसिर २०८१, शनिबार

बेनीमा लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियानका अवसरमा प्रभातफेरी

blog

१६ दिने अभियानका क्रममा बेनीमा आयोजना गरिएको प्रभातफेरी । तस्बिर : ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य
म्याग्दी, मङ्सिर ९ गते । 
म्याग्दीको बेनीमा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानका अवसरमा प्रभातफेरी गरिएको छ । बेनी नगरपालिकाले आयोजना गरेको प्रभातफेरी कार्यक्रममा महिला हिंसाविरुद्धका प्लेकार्डसहित नारा लगाउँदै बजार परिक्रमा गरिएको छ ।

जनप्रतिनिधि, महिला अधिकारीवादी विभिन्न संघसंगठनका प्रतिनिधिहरू, विद्यार्थी र सुरक्षाकर्मीहरूको सहभागितामा प्रभातफेरी गरी १६ दिने अभियानको उद्घाटन गरिएको हो ।

प्रभातफेरीपछि जिल्ला समन्वय समितिको सभा हलमा आयोजित अन्तरक्रिया कार्यक्रममा प्रदेशसभा सदस्य विमला गौचनले अझै पनि समाजमा महिला हिंसा कायम रहेको बताउँदै एकताबद्ध भएर महिला हिंसाको न्यूनीकरणका लागि जनचेतना जगाउनुपर्ने विचार व्यक्त गर्नुभयो । चेतनाको कमिका र कानुनको प्रभावकारी कार्यान्वयनको अभावका  कारण समाजमा महिला हिंसाका घटना बढेको उहाँको भनाई थियो ।

बेनी नगरपालिकाका प्रमुख सुरत केसीले महिला हिंसा न्यूनीकरणका लागि कानुनको प्रभावकारी कार्यान्वयन र जनचेतना आवश्यक रहेको बताउनुभयो । उपप्रमुख ज्योति लामिछानेले महिला हिंसा न्यूनीकरणका लागि सबैको सहकार्यमा समाजमा व्यापक रूपमा जनचेतना जगाउनुपर्ने बताउनुभयो ।

१६ दिने अभियानका क्रममा स्थानीय तह, विभिन्न सङ्घसंस्था र महिला अधिकारकर्मीहरूको सहयोग र समन्वयमा जिल्ला प्रहरी कार्यालयले जिल्लाव्यापी रूपमा विभिन्न कार्यक्रमको आयोजना गरिएको प्रहरी नायब उपरीक्षक मदन कुँवरले बताउनुभयो ।