बिन्दु थापा
पाल्पा, मंसिर ९ गते । महिला हिंसा अन्त्यका लागि हिंसाविरुद्धका सचेतना कार्यक्रम आवश्यक रहेको बताइएको छ । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको पहिलो दिन तानसेन नगरपालिकाले आयोजना गरेको कार्यक्रममा बोल्ने वक्ताले यस्तो बताएका हुन् ।
कार्यक्रममा तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठले महिलामाथिको नियन्त्रणको दायरा अझ पनि कसिलो देखिएकाले यस्तो मानसिकता परिवर्तन गर्न ढिलाइ गर्न नहुने बताउनुभयो ।
कार्यक्रमका अध्यक्ष प्रतीक्षा गाहा सिंजालिले मानिस शिक्षा र चेतनाले सभ्य हुनुपर्नेमा झन् असभ्य र हिंस्रक बन्दैगएको अनुभूति भएको बताउनुभयो । उहाँले समय जति प्रगतिशील र विकसित हुँदैछ, महिला हिंसाको स्वरूपमा झन् अमानवीय र क्रूर बन्दैगएकाले अब महिला सचेतनाका कार्यक्रमलाई प्रभावकारी बनाउँदै लैजान पर्ने बताउनुभयो ।
तानसेन नगरपालिकाका प्रवक्ता यादवसिंह कार्किले महिला हिंसा अपरिचित शृङ्खलामा नहुने भन्दै हिंसा परिचित र नजिककाबाट भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘सार्वजनिक, निजी क्षेत्र र जीवनको कुनै पनि समयमा आउन सक्ने भएकाले महिलाविरुद्ध हुने हिंसाले प्रायः महिलालाई व्यक्तित्व विकास र प्रगतिमा मात्र रोक्दैन, परिवार र सिङ्गो समुदायको सामाजिक, आर्थिक र राजनीतिक विकासमा पूर्ण योगदान दिनबाट रोक्दछ । महत्त्वपूर्ण कुरा के हो भने, हिंसाले सामाजिक विभाजनको मुद्दालाई प्रोत्साहन गर्नुका अतिरिक्त शान्ति, विकास र समुन्नतिमा बाधा सिर्जना गरेको छ ।’
सहजकर्ता अधिवक्ता लालकुमारी राना र जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक श्रीराम भट्टले सचेतना अभिमुखीकरण गराउँदै महिला अब सजग बन्नुपर्ने बताउनुभयो । उहाँले महिलाविरुद्ध हुने हिंसाले प्रायः महिलालाई व्यक्तित्व विकास र प्रगतिमा मात्र रोक्दैन, परिवार र सिङ्गो समुदायको सामाजिक, आर्थिक र राजनीतिक विकासमा पूर्ण योगदान गर्नबाट रोक्ने, हिंसाले सामाजिक विभाजनको मुद्दालाई प्रोत्साहन गर्नुका अतिरिक्त शान्ति, विकास र समुन्नतिमा बाधा सिर्जना गरेको बताउनुभयो । कार्यक्रममा जनप्रतिनिधि, महिला सङ्घ संस्थाका प्रतिनिधिको सहभागिता थियो ।