• १३ मंसिर २०८१, बिहिबार

बज्न छाडे वन पाखामा बाँसुरीका धुन

blog

बाँसुरी बजाउँदै एक स्थानीय युवा । तस्बिर : राजन रावत

राजन रावत

हुम्ला, मङ्सिर ९ गते । गाउँ र बनपाखामा बज्ने बाँसुरीको धुन पछिल्लो समय बज्न छाडेका छन् ।  बजाउने युवाहरू नभएपछि बनपाखामा सुनिने बाँसुरीको धुन दुर्लभ हुन थालेको छ ।  

खार्पुनाथ गाउँपालिका–१ का टक्कबहादुर शाहीले गाउँ र बनपाखामा सुनिने बाँसुरीको धुन सुनिन छाडेको बताउनुभयो । उहाँले पहिले–पहिले भेडाबाख्रा र गाई चराउन जाने प्रत्येक युवाले हात–हातमा बाँसुरी बोकेर जाने र हिउसो बजाउने गर्नेगरेको भए पनि अहिले भने कतै पनि बाँसुरीको धुन बज्न छाडेको बताउनुभयो । 

उहाँले पछिल्लो समय कुनै पनि युवाको हातमा बाँसुरी नदेखिने बताउँदै बाँसुरी बजाउने कला हराउने चिन्ता व्यक्त गर्नुभयो । वन जङ्गलमा बाँसुरीको धुन सुनिदा किन्ने रमाइलो लाग्ने बताउँदै अहिले गोठालाले बाँसुरी नबजाउँदा खल्लो लाग्नेगरेको उहाँले बताउनुभयो । पछिल्लो पुस्ताको रुचि बाँसुरीप्रति नभएको कारण यो सीप लोप हुने अवस्थामा पुगेको सर्केगार्ड गाउँपालिका –३ का दानबहादुर फडेराले बताउनुभयो । 

रातिको समयमा गाउँमा युवाहरूले बाँसुरी बजाउनुले निक्कै सुरियो स्वर आउनेगरेका दिनहरू सम्झँदै उहाँले अहिले त्यस्ता सुरिला स्वर कहिल्यै सुन्न नपाइएको बताउनुभयो । युवाहरू बाँसुरी बजाउने भएका कारण गाउँ–गाउँमा यसको बिक्री समेत हुने गरेकोमा अहिले भने बिक्रीका लागि बाँसुरी ल्याउन छाडिएको बताउनुभयो । यसको संरक्षण र बचाउतर्फ लाग्न अहिलेको आवश्यकता रहेको उहाँले बताउनुभयो ।