• १५ मंसिर २०८१, शनिबार

नौ वर्षदेखि घुमाउनेको पुल अलपत्र

blog

अलपत्र परेको घुमाउने घाटको पुल । तस्बिर :अमरराज नहर्की

अमरराज नहर्की
तनहुँ, मङ्सिर ९ गते ।
 तनहुँको आँबुखैरेनी गाउँपालिका र चितवनको भरतपुर महानगरपालिकालाई जोड्ने घुमाउनेघाटमा पुल निर्माण थालिएको नौ वर्षसम्म पनि पूरा हुन सकेको छैन । आँबुखैरेनी–५ र भरतपुर–२९ घुमाउने जोड्ने त्रिशूली नदी पक्की पुल निर्माणको काममा ढिलाइ भए पनि सम्बन्धित निकायले ध्यान दिन नसक्दा लामो समयदेखि पुल अलपत्र परेको हो ।

समयमा नै पुल निर्माण पूरा नहुँदा गण्डकी प्रदेशको राजधानी पोखरालाई तराईसँग पृथ्वीराजमार्गको विकल्पका रूपमा जोड्ने छोटो दूरीको मार्ग सञ्चालनमा ल्याउन पाइएको छैन । विसं २०७१ असारमा पुल निर्माणका लागि सम्झौता भएको थियो तर पुल अहिलेसम्म फाउण्डेशनकै चरणमा छ । अहिलेसम्म दुईतिरको भागमा पिल्लर मात्रै ठडिएको छ । सडक डिभिजन कार्यालयले सम्झौताअनुसार पनि काम नभए निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने पटकपटक बताउँदै आएपछि खुरुखुरु म्याद थप गर्दै आएको छ ।

डिजाइन एण्ड विल्डका आधारमा ठेकेदार कम्पनीले नै तयार गरेको डिजाइन अनुसार पुल १ सय ५ मिटर लम्बाइ र फुटपाथसहित ११ मिटर चौडाइ रहने छ । आधुनिक ‘आर्क’ डिजाइनमा बन्ने पुलको लागत आठ करोड २६ लाख रुपियाँ छ । दोहोरो लेनको पुलमा ७.५ मिटर गाडी हिँड्ने भाग रहने डिजाइनमा उल्लेख छ ।



हेडौंडास्थित मृत सञ्जीवनी निर्माण कम्पनीसँग भएको सम्झौताअनुसार हालसम्म ३० प्रतिशत मात्रै काम भएको सडक डिभिजन कार्यालयले जनाएको छ । सम्झौता भएको लामो समयसम्म पनि पुलले गति लिन नसक्दा यात्रुलाई सास्ती हुनुका साथै इन्धनमा हुने खर्च कटौती हुन सकेको छैन । निर्माण कम्पनीले विभिन्न बाहान देखाउँदै पुल निर्माणको काम अलपत्र पारेको सडक डिभिजन कार्यालय दमौलीकी प्रमुख सिनियर इन्जिनियर लक्ष्मी केसीले बताउनुभयो । उहाँले पुल निर्माणका लागि पटक–पटक म्याद थप गर्दा पनि पूरा नभएकाले कालो सूचिमा राख्ने तयारी भइरहेको बताउनुभयो ।

निर्माण कम्पनीको ढिलासुस्तीले गर्दा पुलको कामले गति लिन नसकेको सम्बन्धित निकायमा पनि पटकपटक ध्यानाकर्षण गराइएको आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले बताउनुभयो  । दमौलीबाट घुमाउनेसम्म ३२ किलोमिटर दूरी छ । घुमाउनेघाटमा पुल बन्दा नारायणगढबाट बुद्धसिंह मार्ग हुँदै दमौली जान अहिलेको दूरीभन्दा ३०  किलोमिटर छोटो हुने भएकोले इन्धन आयातमा धेरै रकम जोगाउन सकिने अध्यक्ष चुमानले बताउनुभयो  ।

उक्त पुलको निर्माणपछि चितवन आउन पोखरा, बाग्लुङ, पर्वत, बेनी, स्याङजा र दमौलीका बासिन्दाले डुम्रे, आबुँखैरेनी र मुग्लिन सडक प्रयोग गर्नुपर्दैन । पुल फुटपाथसहित ११ मिटर चौडाइको हुनेछ । दोहोरो लेनको पुलमा ७.५ मिटर गाडी हिँड्ने भाग रहनेछ । अहिले पनि तनहुँको दमौलीबाट घुमाउनेघाटसम्म नियमितरूपमा साना बस चलेका छन् । तर पुल नहुँदा ती सवारी नारायणगढ–मुग्लिन सडकखण्डसम्म आइपुग्न सक्दैनन् ।

दमौलीबाट घुमाउनेघाटसम्म स्तरीय सडक निर्माण भइरहेको छ । अहिले मुग्लिन, आबुँखैरेनी, डुम्रे हुँदै दमौली जाने गरिन्छ । मोटरेवल पुल नहुँदा तनहुँको धरमपानी, प्यूघर, सराङघाट लगायतका स्थानीयलाई आउजाउमा समस्या छ  । तनहुँको दमौलीबाट घुमाउनेघाटसम्म नियमित रुपमा साना बसहरू आउने जाने गरेका छन् । तर पुल नहुँदा ती बसहरू नारायणगढ–मुग्लिन सडकखण्डसम्म आउन सक्दैनन् ।

तनहुँको सदरमुकाम दमौलीदेखि घुमाउनेसम्म जम्मा ३२ किलोमिटर छ । सेती नदीको किनारै किनार घुमाउनेघाट, प्युघर, सराङघाट, मासीघाट, सुँढे, बेलवास हुँदै दमौली पुग्न सकिन्छ । घुमाउनेघाटमा भएको झोलुङ्गे पुलबाट मानिसहरु मुग्लिन नारायणगढ सडकसम्म आउने–जाने गर्छन् । पुलको निर्माणपछि नारायणगढ आउन पोखरा, बागलुङ, पर्वत, बेनी, स्याङ्जा र दमौलीका बासिन्दाले डुम्रे, आँबुखैरेनी र मुग्लिनसम्मको थप ३० किलोमिटर सडक प्रयोग गर्नु पर्दैन । बुद्धसिंह मार्गको दमौलीबाट सुढेसम्मको १० किलोमिटर सडक कालोपत्रका लागि ३४ करोड २७ लाख ५४ हजार पाँच सय ६१ मा ठेक्का सम्झौता भएको छ । मैनाचुली सफल जेभी काठमाडौंले ३३ महिना भित्र कालोपत्र गरीसक्ने गरी २०७९ भदौ २७ मा सम्झौता भएको छ । सडक पिच र पुलको काम एकैपटक सक्ने गरी सम्झौता भएको पूर्वाधार विकास कार्यालय तनहुँको सूचना अधिकारी धनमाया मिश्रले बताउनुभयो ।