• ९ असार २०८१, आइतबार

सुनसरीमा लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियान सुरु

blog

इनरुवामा जिल्ला प्रहरी कार्यालयबाट निकालिएको प्रभातफेरी र्यालीमा सहभागीहरु । तस्बिर : जयकृष्ण यादव

जयकृष्ण यादव
इनरुवा, मङ्सिर ९ गते । सुनसरीको सदरमुकामसहित विभिन्न स्थानीय तहमा लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियान सुरु गरेको छ । शनिबार प्रभातफेरी र र्‍याली, कोणसभा र अन्तरक्रियासहितको कार्यक्रम गरी लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियान सुरु गरेको हो ।

लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियान मूल आयोजक समिति, लैङ्गिक हिंसा नियन्त्रण जिल्ला सञ्जाल समितिको आयोजना तथा जिल्लास्थित गैरसरकारी संस्था महासङ्घ, इनरुवा नगरपालिका, इन्सेक, उद्योग वाणिज्य सङ्घ, महिला मानव अधिकार रक्षकहरूको जिल्ला सञ्जाल, मानव अधिकार सञ्जाल लगायतका संस्थाहरूको समन्वयमा प्रभातफेरी गर्दै अभियानको उद्घाटन गरिएको हो ।

प्रभातफेरी कार्यक्रममा प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे, जिल्ला प्रहरी कार्यालयका एसपी विपिन रेग्मी, इनरुवा नगरपालिकाका सविना सिग्देल, लैङ्गिक हिंसा नियन्त्रण जिल्ला सञ्जाल समितिका सदस्य सत्यनारायण मेहता, गैरसरकारी संस्था महासङ्घका अध्यक्ष मेघराज न्यौपाने, इनरुवा नगरपालिका महिला बालबालिका शाखा प्रमुख दिपा पोखरेल, इन्सेकका जयकृष्ण यादव, उद्योग वाणिज्य सङ्घका अध्यक्ष वीरेन्द्रकुमार साह, महिला मानव अधिकार रक्षकहरूको जिल्ला सञ्जालका कमला खत्वे, मानव अधिकार सञ्जालका संयोजक रमेश भट्टराई लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रममा बोल्नुहुँदै प्रमुख जिल्ला अधिकारी पाण्डेले महिला हिंसाविरुद्धको अभियान जनस्तरमा जागरूकता फैलाउने र महिला हिंसा न्यूनीकरण गर्ने कार्यमा सबै सरकारी तथा गैरसरकारी संस्थाहरूसँग समन्वय आवश्यक रहेको बताउनुभयो ।

प्रजिअ पाण्डेले महिला हिंसा, यौन हिंसा, बलात्कार तथा घरेलु हिंसालगायतका घटना सहेर नबस्न समेत आग्रह गर्नुभयो । दिवस र अभियानका सफलताका लागि सबैले आ–आफूमा लैङ्गिक हिंसा नगर्ने र हिंसा नसहने प्रतिबद्धताको आवश्यक रहेको बताउनुभयो ।

सोही कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका एसपी विपिन रेग्मीले लैङ्गिक हिंसा पीडितको उजुरीको आधारमा पीडकमाथि छिटोछरितो तरिकाले कारबाही हुने गरी कार्य गरिरहेको बताउनुभयो । उहाँले प्रदेश सरकार र प्रहरीको कार्यपालिका अनुसार अभियानको १६ दिन नै विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाइने जानकारी दिनुभयो ।

यसैगरी, कार्यक्रममा जिल्ला बार एसाेसियनबाट पञ्चदेव मेहता, सुरक्षित आवास गृह सञ्चालन गर्ने संस्था आरेककी अल्विना प्रविण, उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष गिरिराज अटल, सदस्य वीरेन्द्रकुमार साह, महिला अधिकारकर्मीहरू, बाल सञ्जालका प्रतिनिधिहरू लगायतका सदस्यहरू सहभागी भएका थिए ।

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको सुरुवात महिलाविरुद्धको हिंसा अन्त्यका लागि सन् १९९१ मा सेन्टरफोर ओमन्स ग्लोबल लिडरसीपको सहयोगमा विभिन्न २३ देशका उत्साहित महिला अधिकारकर्मी समूहले गरेको थियो । त्यसपछि हरेक २५ नोभेम्बरदेखि १० डिसेम्बरसम्म अन्तर्राष्ट्रिय अभियानका रूपमा विश्वव्यापी रूपमा मनाउँदै आएको पाइन्छ ।