• १५ मंसिर २०८१, शनिबार

मालपोत र नापी कार्यालय सञ्चालनमा आउँदा सेवाग्राहीलाई सहज

blog

कोहलपुरमा सञ्चालनमा आएको मालपोत कार्यालय । तस्विर : सिराज खान

सिराज खान 

नेपालगन्ज, मङ्सिर ८ गते । गत कात्तिक १ गतेबाट मालपोत र नापी कार्यालयले कोहलपुरबाट तीनवटा पालिकामा सेवा प्रवाह सुरु भएपछि सो क्षेत्रका सेवाग्राहीलाई सेवा लिन सहज भएको छ । 

बाँकेको कोहलपुर, बैजनाथ र राप्तीसोनारीका २७ वडाका नागरिकको जग्गासम्बन्धी काम कोहलपुरबाट हुन थालेपछि नेपालगन्ज जानुपर्ने बाध्यता हटेको र सेवा लिन सहज भएको सेवाग्राहीको भनाइ छ । 

मालपोत कार्यालयमा सेवा लिन आउनुभएका बैजनाथ गाउँपालिका –७ का जीवन थारूले सानो कामले पनि नेपालगन्ज जानुपर्ने बाध्यताको अन्त्य भएपछि आफूहरुलाई निकै सहज भएको बताउनुभयो । 

उहाँले कोहलपुरबाटै सेवा पाएपछि पैसा, समयको बचतसंगै अनावश्यक झन्झटबाट पनि मुक्ति पाएको बताउनुभयो । सोही प्रकारले राप्तीसोनारी –४ का रमेश थापाले पनि कोहलपुरबाट सेवा सुचारु भएपछि अब कम समयमै धेरै काम र काम पनि छिटोछरितो तरिकाले भइरहेको बताउनुभयो । 

उहाँले यसअघि सानो कामका लागि पनि नेपालगन्ज जानुपर्दा दिनभरि लाग्ने र गाडी भाडा पनि धेरै खर्च गर्नुपरेको बताउनुभयो । 

कोहलपुर नगरपालिका, बैजनाथ र राप्तीसोनारी गाउँपालिकाका २७ वडाका नागरिकका जग्गासम्बन्धी सबै काम कोहलपुरबाटै भइरहेकाले सेवाग्राही र कर्मचारी दुबैलाई सहज भएको नापी कार्यालय कोहलपुरका अधिकृत दिनेशकुमार भण्डारीले बताउनुभयो ।

उहाँले अहिले कार्यालय स्थापना भएको केही समय मात्र भएको र जनशक्तिको अभावले गर्दा सेवा प्रवाह भनेजस्तो दिन नसके पनि सेवाग्राहीलाई धेरै सहज भएको बताउनुभयो । 

कार्यालय सार्दा नेपालगन्जबाट केही डाटा छुटेकाले बेला–बेला समस्या आउनेगरेको प्रमुख भण्डारीले बताउनुभयो । कतिपय नागरिकले थाहा नपाएका कारण नेपालगन्जसम्म पुगेर दुःख पाउने गरेको गुनासो आएको पनि भण्डारीको भनाइ छ । 

उहाँले थप्नुभयो, ‘अब कोहलपुरबाटै नियमित सेवा प्रवाह हुनेछ, कार्यालय व्यवस्थापनको काम पनि सँगसँगै भइरहेकाले कहिलेकाहीँ ढिला हुने भएकाले सेवाग्राहीलाई धैर्य गरिदिन आग्रह गर्दछु ।’