काठमाडौं, मङ्सिर ८ गते। नेपाल चिकित्सक सङ्घको तेस्रो राष्ट्रिय स्वास्थ्य सम्मेलन मङ्सिर १० र ११ गते हुने भएको छ।
सङ्घले यसअघि असोजमा गर्न लागेको सम्मेलन चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि निरन्तर आक्रमण र दुर्व्यवहारका घटना भएपछि स्थगित भएको थियो।
सङ्घमा आयोजित पत्रकार सम्मेलनमा सङ्घका अध्यक्ष डा. अनिल कार्कीले सम्मेलनको सबै तयारी पूरा भइसकेको जानकारी दिनुभयो।
दुई दिनसम्म चल्ने उक्त सम्मेलन ‘गुणस्तरीय स्वास्थ्य सेवाको प्रवर्द्धनः अवसर र चुनौती’ विषयमा केन्द्रित रहेर तेस्रो राष्ट्रिय सम्मेलनमा छलफल हुने डा. कार्कीले बताउनुभयो।
डा कार्कीका अनुसार सम्मेलनको ‘थर्ड एनएमए नेशनल हेल्थ समिट २०२३’ नाम दिइएको छ।
सम्मेलन गुणस्तरीय स्वास्थ्य सेवाको प्रवर्द्धन अवसर र चुनौती भन्ने मुख्य सन्देशका साथ सात वटा छुट्टाछुट्टै विषयवस्तुमा प्यानल छलफल उहाँको भनाइ छ।
सङ्घका अनुसार अघिल्लो वर्ष गरिएको दोस्रो राष्ट्रिय स्वास्थ्य शिखर सम्मेलनका उपलब्धि, चिकित्सा विज्ञानको विकासका लागि खोज, अनुसन्धान तथा नवप्रवर्तन, स्वास्थ्य सेवा प्रणालीको उन्नयनका लागि स्वास्थ्य अर्थशास्त्र, सुरक्षित स्वास्थ्य सेवा प्रवाहको सबलीकरण, समान सेवाका लागि स्वास्थ्य प्रणाली र स्तरीय स्वास्थ्य सेवाका लागि गुणस्तरीय शिक्षा विषयमा छलफल हुनेछ।
सङ्घले जर्नल अफ नेपाल मेडिकल एसोसिएसनको प्रकाशन सुरुवात भएको महिनालाई प्रत्येक वर्ष वार्षिक क्यालेण्डर इभेन्टको रुपमा सम्मेलनको आयोजना गर्न थालेको हो।