दिवाकर पोख्रेल
देउखुरी, मङ्सिर ८ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बर्तमान गणतान्त्रिक व्यवस्थामा गल्ती गर्ने छुट कसैलाई नभएको बताउनुभएको छ ।
नेकपा (माओवादी केन्द्र) दाङ क्षेत्र १ ले आयोजना गरेको भेटघाट कार्यक्रममा नेकपा माओवादी केन्द्रकी स्थायी समिति सदस्य शर्माले गणतन्त्र जनताकै शासन व्यवस्था भएकाले कसैले गल्ती गरे ढिलोचाँडो सजायको भागेदार हुने प्रष्ट पार्नुभयो ।
उहाँले भन्न्नुभयो, “कसै कसैलाई यो गणतन्त्रमा जे पनि गर्न पाइन्छ भन्ने लागेको होला, जोकोेहीले पनि गल्ती गरेको प्रमाणित भए सजाय भोग्नुपर्छ भन्ने प्रमाणित भइसकेको छ, बरु यहाँ नेतृत्वलाई पनि प्रश्न उठाउन पाइन्छ, पाइएको छ ।”
सरकारको प्रवक्ता समेत रहनुभएकी मन्त्री शर्माले बर्तमान सरकारले प्रतिकुलतामा पनि धेरै महत्वपूर्ण काम गरेर गणतन्त्र र लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामा नमूना काम हुन सक्छन् भन्ने छाप छोडन सकेको बताउनुभयो ।
मिटरव्याजलाई कानुन विपरितको काम मान्नेगरी कानुन वनाएर कार्यान्वयन गर्ने काम भइरहेको भन्दै सहकारीपीडित र लघुवित्त पीडितको विषयमा पनि सरकारले योजना वनाएर काम गरिहेको स्मरण गराउनुभयो ।