• १५ मंसिर २०८१, शनिबार

दसैं–तिहारपछि सुनसान बन्दै गाउँ

blog

तनहुँको दमौलीस्थित भोर्लेटार चोकमा गाउँ छोडेर सहर आएकाहरूको भीड । तस्बिर–अमरराज नहर्की

अमरराज नहर्की

तनहुँ, मङ्सिर ६ गते । तनहुँका गाउँ विस्तारै सुनसान हुँदै गएका छन् । दसैँ, तिहार मनाउन आएका विद्यार्थी, परदेशीहरु सहर फर्किने तथा विदेश जान थालेसँगै गाउँघर सुनसान हुन थालेका हुन् । चाडपर्व मनाउन विदेशबाट घर आएका स्थानीय काममा फर्किन सुरु गरिसकेका छन् । 

उनीहरु फर्किन थालेसँगै यहाँका ग्रामीण बस्ती सुनसान हुन पुगेको व्यास नगरपालिका–६ साँजास्थित रत्नज्योति आधारभूत विद्यालयका प्रधानाध्यापक देउराज गुरुङले जानकारी दिनुभयो । 

पहिला तीन सय घर रहेको गाउँमा हाल ६५ घर मात्रै रहेको त्यहाँ रहेका अधिकांश युवा विदेश रहेकोले सुनसान बनेको गुरुङले बताउनुभयो । गुरुङले भन्नुभयो, “परदेश गएका चाडपर्वमा घर आएकाले  गाउँमा रमाइलो थियो, अहिले उनीहरु फर्किन थालेपछि गाउँघर सुनसान भएको छ ।”

पढ्न सहर छिरेका र जिल्ला बाहिर जागिर गर्नेले पनि गाउँ छाड्न थालेसँगै गाउँ सुनसान हुन थालेका छन् ।  आफ्नो काम गर्ने ठाउँमा जाने र पढ्न गएका विद्यार्थी पनि फर्किन थालेपछि सवारीसाधनमा समेत चाप बढेको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख राजीव विष्टले जानकारी दिनुभयो । 

जिल्ला बाहिर फर्किनेले गर्दा यातयातका साधन भरिभराउ भएको उहाँले जानकारी दिनुभयो । दसैं र तिहारमा रमाइलो रहेका जिल्लाका १० पालिका गाउँघरमा विस्तारै रौनक हराउन थालेको छ । 

स्थानीय स्तरमा रोजगारी नभएकोले गाउँमा युवाहरु नहुँदा सुनसान भएको व्यास नगरपालिका–१३ पोखरीभञ्ज्याङ निवासी ९१ वर्षीय रामनाथ सेढाईंको भनाइ छ । 

उहाँले भन्नुभयो, “गाउँमा युवा नहुँदा कुनै समस्या पर्दा वा कोही मर्दा पर्दासमेत मलामी जाने मान्छे पनि नहुने अवस्था आएको छ ।’’