• १५ मंसिर २०८१, शनिबार

फ्रान्सद्वारा भूकम्पपीडितलाई औषधि र त्रिपाल सहयोग

blog

जाजरकोट बारेकोटका पीडितको स्वास्थ्य परीक्षण गर्दै स्वास्थ्यकर्मी टोली ।

सिराज खान 

नेपालगन्ज, मङ्सिर ८ गते । भूकम्प प्रभावित जाजरकोटको जिल्ला अस्पताल र भूकम्पको केन्द्रबिन्दु रहेको बारेकोट गाउँपालिकालाई एमडीएम फ्रान्सले ८८ प्रकारका अति आवश्यक औषधिलगायत त्रिपालहरू सहयोग गरेको छ । 

औषधि र त्रिपाल वितरण गरेर जाजरकोटबाट फर्किनुभएका एमडीएम फ्रान्सका कार्यक्रम अधिकृत गणेश कार्कीले दिनुभएको जानकारीअनुसार जाजरकोट अस्पताललगायत बारेकोट स्वास्थ्य चौकीको आधारभूत सेवालाई सुचारु राख्न औषधि तथा टेन्ट सहयोग गरिएको हो । 

उहाँले जाजरकोट अस्पताल र स्वास्थ्य संस्थाहरुको अवस्थालाई अध्ययन गरी अति आवश्यक औषधि र त्रिपाललगायतको सहयोग गरिएको बताउनुभयो । 

औषधि र त्रिपाल हस्तान्तरण गर्न गएका बेला भूकम्पको केन्द्रबिन्दु रहेको बारेकोटमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेर ३०० भन्दा बढीको उपचार गर्दै औषधि वितरण गरिएको कार्यक्रम अधिकृत कार्कीले बताउनुभयो ।

बारेकोटको लिम्सास्थित अस्पतालमा आयोजना गरिएको स्वास्थ्य शिविरमा एमडीएम फ्रान्सका चिकित्सक डा. आश्मा शाहलगायतले सर्वसाधारणको स्वास्थ्य परीक्षण गर्नुभएको थियो । 

सो अवसरमा स्वास्थ्य परीक्षणका लागि आएका अधिकांश सर्वसाधारणलाई चिसोका कारण ज्वरो, खोकी र दमसहित अन्य रोग पनि लागेको भेटिएको डा. शाहले बताउनुभयो । 

सोही अवसरमा भूकम्पपीडित तथा स्थानीयको औषधि उपचार गर्नुका साथै २०० परिवारलाई हाइजिन र डिग्निटी किट वितरण गरिएको एमडी फ्रान्सले जनाएको छ । 

भूकम्प पश्चात अधिकांश पीडितहरु त्रिपालमा बस्दैआएका कारण उहाँहरुमा भूकम्पपछिको आघात, ज्वरो, खोकी, दम, र उच्च रक्तचापलगायतका समस्या देखिएको कार्यक्रम अधिृकत कार्कीले बताउनुभयो । 

उहाँले सो क्षेत्रको आवश्यकता र मागलाई दृष्टिगत गरी ८८ प्रकारका अति आवश्यक थप औषधिलगायत ३०० हाइजिन र डिग्निटी किट जाजरकोट जिल्ला अस्पताल र बारेकोट गाउँपालिकाको आधारभूत अस्पताललाई बिहीबार फेरि पठाइएको बताउनुभयो । 

पीडितको अस्थायी बासोबासका लागि १०० घरधुरीलाई शेल्टर किट (त्रिपाल, नाइलन डोरी, कम्बल, अलुमिनियमफ्लोर, म्याट र वाटरप्रुफ झोलासहितको) केही दिनमै पठाइने सो टोलीमा रहनुभएका समद सिद्दिकीले बताउनुभयो । 

उहाँले जाजरकोटमा थप स्वास्थ्य शिविर आयोजना गर्नुका साथै स्वास्थ्य कार्यालयको मागअनुसार औषधिलगायत स्वास्थ्यजन्य उपकरण पनि प्रदान गरिने योजना रहेको जानकारी गराउनुभयो ।