• १५ मंसिर २०८१, शनिबार

भ्रष्टाचार नेपालको ठुलो रोग हो : नेता भण्डारी

blog

रमेश विश्वकर्मा

गुल्मी, मङ्सिर ८ गते । नेपाली काँग्रेसका नेता डा. चन्द्र भण्डारीले नेपालको सबैभन्दा ठुलो रोग भ्रष्टाचार भएको बताउनुभएको छ । गत फागुन ३ गते राति काठमाण्डौंको आफ्नै निवासमा ग्यास दुर्घटनामा परी गम्भीर घाइते भई लामो समयको उपचारपछि पहिलो पटक गृह जिल्ला गुल्मी आउनुभएका नेता भण्डारीले सो कुरा बताउनुभएको हो । 

गुल्मी क्षेत्र १ बाट सङ्घीय सांसदमा निर्वाचित भएपछि आफैँले उद्घाटन गर्नुभएको रेसुङ्गा विमानस्थलमा शुक्रबार बिहान काठमाण्डौंदेखि रेसुङ्गा एयरपोर्टमा अवतरण गर्नुभएका डा. भण्डारीले सञ्चारकर्मीसँग सो कुरा बताउनुभयो । रेसुङ्गा विमानस्थलमा नेपाल एयरलाइन्सको नियमित उडान हुन नसकिरहेको जिज्ञासामा सांसद भण्डारीले नियमित उडानका लागि थप हवाईजहाजको आवश्यकता रहेको बताउनुभयो । त्यसका लागि आफूले आग्रह गरिरहेको प्रष्ट पार्नुभयो । 

रेसुङ्गा विमानस्थलमा हप्ताको दुई पटक मात्र होइन दैनिक सञ्चालन होस् भन्ने पक्षमा आफू रहेको बताउँदै उहाँले भन्नुभयो, ‘थाइ एयरलाइन्स र नेपाल एयरलाइन्ससँगै सुरु भएको हो । तर थाइ एयरलाइन्सले धेरै विकास गरिसक्यो । भ्रष्टाचारका कारण यहाँको एयरलाइन्स डेभलप् भएन् । यसका निम्ति आवाज उठाइरहेका छौं । यो एयरपोर्ट दैनिक रुपमा चलोस् भन्ने पक्षमा छु ।’ 

उहाँले आफू दुर्घटनामा परी घाइते भएका बेला संसारभरिका नेपाली जनताले आफ्नो आस्था अनुसार मन्दिर, चर्च, मस्जिदमा गएर प्रार्थना समेत गरेर मृत्युको मुखबाट आफूलाई बचाएको उहाँले चर्चा गर्नुभयो । शुभेच्छुक सबैप्रति आफू ऋणी रहेको उहाँको भनाइ छ ।  ‘मेरो उपचारका लागि सरकारले दिएको उपचार खर्च मैले लिएको छैन । बरु मजस्तै दुर्घटनामा परेकाहरुको उपचारका लागि अस्पताल बनाउँ भनेको छु’ भण्डारीले भन्नुभयो । 

त्यसक्रममा उहाँले रेसुङ्गा एयरपोर्ट गुल्मीको विकासका निम्ति पहिलो खुड्किलो भएको बताउनुभयो । गुल्मीका सबै सडक बन्दा गुल्मेली जनताले दुःख पर्दा पनि साइकलमा बुटवलमा गएर तरकारी बेचेर पनि आफ्नो ज्यान पाल्न सक्ने बताउँदै उहाँले भन्नुभयो, ‘धेरै युवा युवतीहरु विदेश जान पर्ने छैन ।’ यस जिल्लालाई विकासमा जोड्न विगतदेखि वर्तमानसम्मका जनप्रतिनिधिहरुको ठुलो भूमिका रहेको  भण्डारीले बताउनुभयो ।