नारद कोहार
तौलिहवा, मंसिर ८ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले तिलौराकोटलाई राष्ट्रिय गौरवको योजनामा समाबेश गरी विश्व सम्पदासूचीमा सूचीकृत गरिने बताउनुभएको छ ।
मन्त्री किराँतीले राजा शुद्धोधनको राजदरबार एवम् बुद्धले आफ्नो जीवनको २९ वर्ष बिताएको ठाउँ प्राचीन तिलौराकोट निरीक्षण गर्ने क्रममा सो कुरा बताउनुभएको हो ।
राज्यले तिलौराकोटलाई गौरवको योजना बनाएर विश्व सम्पदासूचीमा सूचीकृत गर्न अग्रसर रहेको मन्त्री किराँतीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘यस ठाउँले विश्व सम्पदासूचीमा सूचीकृत गर्न पहल गरिरहेका छौं ।’
तिलौराकोटलाई राष्ट्रको गौरव, इतिहास र संस्कृतिको संरक्षणका साथै बातारणको संरक्षण गर्ने उहाँको भनाइ छ । उहाँले जमिनमुनि रहेको संरचनालाई उत्खनन र प्रमाणीकरण गर्न विश्व सम्पदासूचीमा सूचीकृत गर्न समय लागेको बताउनुभयो ।
प्राचीन तिलौराकोटलाई विश्व सम्पदासूचीमा सूचीकृत गर्न अन्तिम चरणको मनोनयन दस्ताबेज पेस गर्ने तयारी भइरहेको उहाँको भनाइ छ । यसअघि पहिलो चरणको प्रस्तावित मनोनयन दस्ताबेज विश्व सम्पदा केन्द्रमा सूचीकृत गर्ने प्रक्रियाअनुसार गत सेप्टेम्बरमा युनेस्को विश्व सम्पदा केन्द्रमा पेस गरिएको थियो ।
कोषका वरिष्ठ निर्देशक एवं मनोनयन दस्ताबेज तयारीका संयोजक ज्ञानिन राईले दोस्रो चरणको मनोनयन दस्ताबेजको कामका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरूसँग छलफल र परामर्श भइरहेको बताउनुभयो । निरीक्षणको त्रममा तिलौराकोटमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरुको समेत सहभागिता थियो ।