अनिल पराजुली
हेटौँडा, मङ्सिर ८ गते । मकवानपुरको मनहरीमा बाघको आक्रमणबाट शुक्रबार बिहान एक जनाको मृत्यु भएको छ । खर काट्न गएका बेला बाघले आक्रमण गर्दा चितवन राप्ती नगरपालिका–१ दुबिचौरका ४३ वर्षीय हरि पौडेलको बिहान १०ः१५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिनुभयो ।
मनहरी गाउँपालिका वडा नं. ६ खयरघारी गाउँबाट २ किलोमिटर दक्षिणतर्फ रहेको राप्ती र लोथरखोलाको मध्यवर्ती क्षेत्र अन्तर्गत दोभानमा खर काट्न गएको बेला बाघले आक्रमण गरेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको र इलाका प्रहरी कार्यालय मनहरी मकवानपुरको टोली घटनास्थलतर्फ गएको छ ।