• १५ मंसिर २०८१, शनिबार

राजेश हमालसहित व्यक्तित्वहरु नेपालगञ्जमा

blog

नेपालगञ्ज कन्क्लेक्टिभका सहभागीहरु । तस्विर : गोविन्द शर्मा

गोविन्द शर्मा

बाँके, मङ्सिर ८ गते । पश्चिम नेपालका विभिन्न क्षेत्रमा केन्द्रित रही विषय विज्ञको सहभागिता रहेको नेपालगञ्ज कन्क्लेक्टिभ शुक्रबार बिहानदेखि सुरु भएको छ ।

महानायक राजेश हमाल, पाइलट भावना पन्त, मिस नेपाल वर्ल्ड–२०२३ शृच्छा प्रधान, कर्णाली प्रदेशका मुख्य सचिव चूडामणि पौडेल, अधिकारकर्मी मोहना अन्सारी, साहित्यकार नयनराज पाण्डे, अभिनेत्री सुरक्षा पन्त, सहारा जोशी, धनगढी उपमहानगरपालिका प्रमुख गोपी हमाललगायतको सहभागिता रहने बताइएको छ ।

खेल पर्यटन, युवा उद्यम, महिला सशक्तीकरण, साहित्य र स्वदेशमै रोजगारीजस्ता ६ वटा विषयमा केन्द्रित भई बहस हुने आयोजक क्रियटिभ ह्याण्ड्सका संस्थापक टिएस ठकुरीले जानकारी दिनुभयो । 

पहिलो सत्र ‘खेलकुदसँग टुटेको कडी : शिक्षा, स्वास्थ्य र खेलकुद’ शीर्षकको वहसमा धाविका सन्तोषी श्रेष्ठले  खेलकुद स्वास्थ्यका लागि मात्र नभएर जीवनका लागि समेत जरुरी रहेको बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘खेलाडी बन्न मात्र खेलकुदमा सहभागी हुने होइन, खेलकुदले सबैलाई समेट्छ ।’ बरिष्ठ मुटुरोग विशेषज्ञ डा. विकास नेपालले शारीरिक निष्क्रियताका कारण धेरैको जीवन जोखिममा पर्ने गरेको बताउँदै स्वास्थ्यका लागि मानिस बाल्यावस्थादेखि नै सचेत हुनुपर्नेमा जोड दिनुभयो । 

निजी विद्यालय सञ्चालक सशी स्वारले खेलकुदमा लागे पनि अध्ययनमा कमी हुन्छ भन्ने मानसिकतामा अभिभावकमा देखिने गरेको भन्दै खेलकुदमा लागेका विद्यार्थीको पढाइमा पनि अब्बल हुनेगरेको बताउनुभयो । 

स्वारले भन्नुभयो, ‘खेलकुदमा लागेका विद्यार्थी अनुशासित हुने भएकाले पढाइमा पनि सहयोग पुग्नेगरेको पाइएको छ ।’ कर्णाली प्रदेशका मुख्य सचिव चूडामणि पौडेलले  नेपालमा खेलकुदको विकासका लागि नीति नियम र कानुन भए पनि त्यसको सही कार्यान्वयन हुन नसक्दा र बजेट अभावमा खेल क्षेत्रले सोचेजस्तो प्रगति गर्न नसकेको बताउनुभयो । 

पौडेलले भन्नुभयो, ‘खेल पर्यटनको माध्यमबाट लाभ लिन सकिन्छ, यसबाट राष्ट्रियता पनि मजबुत हुन्छ ।’ नेपालगञ्ज उपमहानगरपालिका प्रमुख प्रशान्त विष्टले  सिङ्गो पश्चिम क्षेत्रको विकासका लागि योजना बनाउन कार्यक्रमले सहयोग पुग्ने बताउनुभयो ।