तिलाचन पाण्डे
तम्घास, मङ्सिर ८ गते । गुल्मीमा देउसी भैलोबाट उठेको रकम मिर्गौला पीडितलाई सहयोग गरिएको छ । हाम्रो रेसुङ्गा सेवा समाज गुल्मीले देउसी भैलोबाट उठेको रकम रेसुङ्गा नगरपालिका वडा नम्वर ८ र ९ का मिर्गौला पीडित ५८ वर्षीय पुतलादेवी थापा र ५३ वर्षीय नारायण सुनारलाई २०।२० हजारका दरले सहयोग गरेको समाजकी अध्यक्ष सरिस्मा नेपालीले जानकारी दिनुभयो ।
देउसी भैलोबाट उठेको रकम मिर्गौला पीडितलाई सहयोग गरेर पीडितहरुको साथमा आफूहरु पनि रहेको सन्देश दिन सहयोग गरिएको नेपालीले बताउनुभयो । आगामी दिनहरुमा पनि समाजले पीडितहरुको घाउमा मलम लगाउने र परोपकारी कार्यमा सहयोग गर्दै जाने योजना रहेको बताउनुभयो ।
सहयोग रकम हस्तान्तरण गर्दै वडा नम्बर ८ का निरञ्जन थापाले सेवा समाजले गरेको कार्यबाट अन्य सङ्घसंस्थाहरुले पनि पाठ सिक्नुपर्ने बताउनुभयो । सानो सहयोगले पनि पीडितहरुलाई ठुलो राहत मिल्ने भन्दै परोपकारी कार्यहरुमा सबै जुट्नुपर्नेमा उहाँले जोड दिनुभयो । देउसी भैलोबाट उठेको रकम खानपान गरेर खर्चने प्रचलन रहँदै आएकोमा सेवा समाजले उदाहरणीय कार्य गरेको नेपाल पत्रकार महासङ्घ गुल्मीका अध्यक्ष टोपलाल अर्यालले बताउनुभयो ।
सेवा समाजले गरेको सहयोगले आफूहरुको उपचारमा ठुलो सहयोग पुग्ने पीडितले बताउनुभयो । सहयोग हस्तान्तरण कार्यक्रममा सेवा समाजका पदाधिकारी, जनप्रतिनिधि र मिडियाकर्मीहरुको उपस्थिति थियो ।