भक्तिविलास पोखरेल
गाईघाट, मङ्सिर ७ गते । निर्माणाधीन गाईघाट–फत्तेपुर सडकको काम बजेट अभावमा अलपत्र परेको छ । सदरमुकाम जोड्ने उदयपुर जिल्लाकै सबैभन्दा पुरानो गाईघाट–फत्तेपुर सडकलाई दुई लेनको बनाएर कालोपत्रे गर्ने गरी अघिल्लो वर्ष सुरु गरिएको सडक निर्माणको काम अहिले रकम अभाव हुँदा अलपत्र परेको हो ।
त्रियुगा नगरपालिका–१, २ र ३ तथा चौदण्डीगढी नगरपालिका–१०, ९ र ५ को सुन्दरपुर हँुदै सप्तरीको फत्तेपुर जोड्ने ३० किलोमिटर लामो सो सडक अन्तर्गत मोतीगढा, जोगीदह र रूपनीसम्मको करिब १२ किलोमिटरमा यसै वर्ष काम सम्पन्न गर्ने गरी निर्माणको काम अगाडि बढाइएकोमा बजेट अभावले काम ठप्प भएको डिभिजन सडक कार्यालय लहानका प्रमुख डिई रमेश चौधरीले बताउनुभयो ।
उहाँका अनुसार नेपाल सरकारको निर्वाचन क्षेत्र रणनीतिक सडक योजना अनुसार सङ्घीय संसद्को एउटा निर्वाचन क्षेत्रमा कम्तीमा २५ र बढीमा ४० करोड रुपियाँसम्मको लागतमा सडक निर्माण गर्ने कार्यक्रम अनुसार उदयपुरको निर्वाचन क्षेत्र नं. १ मा पर्ने सदरमुकाम गाईघाट जोड्ने जिल्लाकै सबैभन्दा पुरानो यो गाईघाट–फत्तेपुर सडक अन्तर्गतको मोतीगढा जोगीदह खण्डमा कालोपत्रे गर्न सुरु गरिएको हो ।
सडकको स्तरोन्नतिसँगै चौडा पार्ने र दायाँबायाँ नाली निर्माणसहित सो क्षेत्रमा पर्ने पाँच वटा ठुला तथा १७ वटा साना गरी २२ वटा कल्भर्ट बनाउनुपर्नेमा अहिलेसम्म ती सबै कल्भर्ट निर्माण सम्पन्न भइसकेको र धेरै ठाउँमा नाला निर्माण गर्नेलगायत सडकसँग सम्बन्धित अन्य
स्ट्रक्चरका कामसमेत सम्पन्न भई सब बेस लगाउनुपर्ने समयमा काम रोकिएको डिभिजन प्रमुख चौधरीले बताउनुभयो ।
हाल निर्माणाधीन अवस्थामा रहेको प्रस्तावित त्रियुगा विमानस्थल भएर जाने उच्च गुणस्तरको दुई लेनको कङ्व्रिmट कालोपत्रेसहितको यो सडक निर्माण गर्न मैजनाचुली साह रेग्मी ज्वाइन्ट भेन्चर निर्माण कम्पनीले २८ करोड ४३ लाख ४६ हजार रुपियाँमा ठेक्का सम्झौता गरी काम
गरिरहेको थियो ।
कुल २८ करोडभन्दा बढी लागत स्टिमेट रहेको सो योजनामा सरकारले एक करोड मात्र रकम दिएको र त्यो पनि सबै खर्च भइसकेको छ । थप बजेट सुनिश्चित नभएकाले तत्काल सो योजनालाई रकम दिन नसकिने भनी अर्थ मन्त्रालयले केही दिनअघि मात्रै परिपत्र गरेपछि युद्धस्तरमा
निर्माण भइरहेको काम बिचैमा रोकिएको डिई चौधरीले बताउनुभयो ।
निर्माण कम्पनीका व्यवसायी मनिकुमार दाहाल खत्रीले कुनै बाधा विरोध नभए निर्धारित समयभन्दा धेरैअगाडि नै काम सम्पन्न गर्ने गरी आपूmले काम गरेको र हाल स्ट्रक्चर निर्माणको काम सकेर धमाधम माटो फिलिङको कामसमेत सुरु गरेको अवस्थामा सडक कार्यालयले रकम दिन नसकेपछि सडक निर्माणको काम बिचैमा अलपत्र भएको बताउनुभयो । निर्माण सम्पन्न भएका सडक नाली तथा अन्य संरचनासमेत अब टुटफुट हुने, पुरिने र त्यसको कुनै संरक्षण हुन नसक्ने भएकाले अर्काे वर्ष गर्दा पनि थप व्ययभार बढ्न सक्ने उहाँले बताउनुभयो ।
यो सडक अन्तर्गत चुरेबाट बगेर आउने लोहाले, बबिया, कङ्ग र बाहुन्ना खोला पर्ने तर ती खोलामा पक्की पुलका लागि नेपाल सरकारले कुनै योजना बनाएको छैन । डिभिजन सडक कार्यालय लहानका डिभिजन प्रमुख रमेश चौधरीका अनुसार पुलको डिजाइन सडक विभागको पुल महाशाखाले गर्ने भएकाले यस कार्यालयले पुल निर्माणसम्बन्धी कुनै योजना अगाडि बढाउन मिल्दैन ।
सडक निर्माणको काम ठप्प भएसँगै सदरमुकामसम्म सरकारी कामकाजमा आउने सेवाग्राही, गर्भवती महिला, सुत्केरी र अन्य कतिपय आकस्मिक उपचारका लागि अस्पताल लैजानुपर्ने बिरामी बोकेका एम्बुलेन्स, सुरक्षा निकायका सवारीसाधनलाई समेत सास्ती भएको छ । पहिलेको ओटासिल भत्काएर नयाँ माटो थुपारिएको सडकमा गुडेका सवारीसाधनका कारण उडेको धुलोले आसपासका बस्तीलाई बसिनसक्नु बनाएको स्थानीयवासीको भनाइ छ ।
सडकको धुलोले घरआँगन र करेसाबारीको तरकारी मात्र हैन, घरभित्र पकाएर खान ठिक्क पारेको दालभातसमेत प्रदूषित पार्ने गरेकाले योभन्दा ठुलो सास्ती अरू के हुन सक्छ भन्दै स्थानीय बासिन्दा आक्रोशित बनेको त्रियुगा नगरपालिका–२ का वडाध्यक्ष घमानसिंह खत्रीले बताउनुभयो ।