• १४ मंसिर २०८१, शुक्रबार

काँग्रेसले महासमिति बैठकमा विधान संशोधन प्रस्ताव लाने

blog

हरि कोइराला

उर्लाबारी, मङ्सिर ७ गते । नेपाली काङ्ग्रेस मोरङको पहिलो जिल्ला सम्मेलनले पार्टीको विधानमा भएका विभिन्न व्यवस्था संशोधनको प्रस्ताव गरेको छ । बुधवार राति  मोरङको सुन्दरहरैँचा–९ विराट चौकमा सम्पन्न भएको  जिल्ला सम्मेलनले पारित गरेको संशोधन प्रस्ताव मोरङ काङ्ग्रेसले आगामी पुसमा हुने महासमिति बैठकमा टेबल गर्ने मोरङ काङ्ग्रेसका सभापति एवम् सङ्घीय सरकारका युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूले बताउनुभयो ।

नेपाली काङ्ग्रेसको महासमिति बैठक आगामी पुस १३ देखि १७ सम्म ललितपुरको गोदावरीमा हुँदै छ । मोरङले एक पटक माथिल्लो तहमा निर्वाचित भए पछि पुनः निर्वाचनमा जानू नपर्ने व्यवस्था खारेज गरी हरेक अधिवेशनमा सबैले तल्लो तहबाट नै निर्वाचित हुनुपर्ने व्यवस्था गर्ने प्रस्ताव गरेको छ । यस्तै  जिल्ला सम्मेलनले कुनै पनि तहको कार्यसमितिमा सभापति सहित ५० प्रतिशत पद निर्वाचन प्रक्रियाबाट र ५० प्रतिशत पद मनोनयनबाट चयन गर्ने व्यवस्था गर्न , प्रतिनिधि सभा निर्वाचन क्षेत्र र प्रदेश निर्वाचन क्षेत्रका सभापति पदेन जिल्ला समिति सदस्य बनाउन , केन्द्रीय महाधिवेशन प्रतिनिधि सभा निर्वाचन क्षेत्रको  पदेन सदस्य हुनुपर्ने ,पार्टीको आन्तरिक प्रतिस्पर्धामा कुनै तहमा पराजित भएको व्यक्तिलाई सो भन्दा माथिल्लो तहमा मनोनीत गर्न नहुने व्यवस्था राख्न ,केन्द्रीय महाधिवेशन प्रतिनिधि हुन क्रियाशील सदस्य लिएको ५ वर्ष हुनुपर्ने व्यवस्था गर्न र प्रदेश सभा क्षेत्रीय समितिमा त्यस क्षेत्रका पालिका सभापतिहरूलाई  पदेन  सभापति राख्ने व्यवस्था गर्न विधान संशोधन प्रस्ताव स्वीकृत गरेको छ । पार्टीका जिल्ला सचिव ललितबहादुर श्रेष्ठले बन्द सत्रले विधानमा हुनुपर्ने संशोधन प्रस्ताव महासमिति बैठकमा मोरङको साझा धारणाका रूपमा पेस गर्ने निर्णय भएको बताउनु भयो । 

यसअघि १४ ओं महाधिवेशन पछि नयाँ संरचना अनुसार मोरङ काङ्ग्रेसले सुन्दरहैँचा ९ को जेसीज भवनमा आयोजना गरेको पहिलो जिल्ला सम्मेलनको पार्टीका  केन्द्रीय सदस्य एवम् प्रतिनिधिसभा सदस्य डा.शेखर कोइरालाले उद्घाटन गर्नुभयो ।सम्मेलनको उद्घाटन  गर्दै काङ्ग्रेस नेतृत्वमा नैतिक शक्ति र आत्मविश्वास गुमेपछि कार्यकर्तामा निराशा छाएको बताउनुभयो ।  प्रमुख अतिथि समेत रहनु भएका कोइरालाले गणतन्त्र के लागि प्राप्त भयो भन्ने जवाफ नेतासँग छैन् , नेतृत्व सुशासन र भ्रष्टाचारमुक्त नभए सम्म  गणतन्त्रका उपलब्धि संस्थागत हुन नसक्ने उल्लेख गर्दै उहाँले दण्डहीनता अन्त्यमा  जोड दिनुभयो । गत वर्ष मात्र वैदेशिक अध्ययन र रोजगारमा जाँदा देशको १ खर्व  ४७ अर्ब रुपियाँ खर्च भएको चर्चा गर्दै कोइरालाले युवा विद्यार्थी बिदेसिने क्रम नरोकिए समाजमा बुढापाका मात्रै रहने बताउनु भयो । पार्टीबाट  निर्वाचित जनप्रतिनिधि र काङ्ग्रेस कार्यकर्ता बिच सम्बन्ध बिग्रेको प्रति चिन्ता गर्दै कोइरालाले हिजो आफूलाई जिताउने कार्यकर्तासँग निर्वाचित जनप्रतिनिधिले सम्पर्क बढाउनुपर्नेमा जोड दिनुभयो ।

 पुर्वमन्त्री एवम् नेपाली काङ्ग्रेसका पूर्व केन्द्रीय सदस्य महेश आचार्यले देशमा न्याय प्रणाली स्वतन्त्र रूपमा नचलेको बताउँदै स्वतन्त्र न्याय प्रणाली नभए व्यवस्था माथि प्रश्न उठ्ने उल्लेख गर्नुभयो । न्याय सम्पादनमा दलीय दृश्य देखिनु नहुने चर्चा गर्दै आचार्यले भन्नुभयो – काङ्ग्रेसले कल्पना गरेको न्यायपालिका यस्तो थिएन । पार्टीको सिफारिसमा न्यायाधीश पठाउने व्यवस्थाले  दुर्घटना हुन सक्ने सङ्केत गर्दै उहाँले १० महिना संसद् सञ्चालन हुँदा एउटा पनि ऐन बनाउन नसक्ने सांसदसँग नागरिकले केही पनि अपेक्षा गर्न नसक्ने धारणा राख्नुभयो । यस विषयमा काङ्ग्रेसले कुनै प्रतिक्रिया नदिएको प्रति दुख प्रकट गर्दै काङ्ग्रेस, काङ्ग्रेस जस्तो नभएको । संसद्, संसद् जस्तो नभएको ।  गणतन्त्र ,गणतन्त्र जस्तो नभएको बताउनुभयो ।

अर्का पुर्वमन्त्री एवं काङ्ग्रेस केन्द्रीय सदस्य डा. मीनेन्द्रप्रसाद रिजालले काङ्ग्रेस सङ्घीय ,प्रदेशका ४ वटा मुख्यमन्त्री र देशका धेरै पालिकाका सरकारमा रहे पनि नागरिकलाई कामको डेलिभरी दिन असमर्थ रहेको बताउनुभयो ।

काङ्ग्रेस कहाँ अल्मलिएको छ, आफूले थाहा नपाएको बताउँदै डा.रिजालले नेपालको अर्थतन्त्र सुधार उन्मुख भए पनि सरकारले नागरिकलाई सेवा दिन नसकेको उल्लेख गर्नुभयो । सरकार आयातमा भन्सार लगाएर प्राप्त गर्ने राजश्वबाट देश सञ्चालन गर्ने बाटोमा छ। तर, उत्पादनसँग जोडिएर निर्यात व्यापार नगर्ने हो भन्ने जुरुक्क उठ्न लागेको अर्थतन्त्रले धान्न मुस्लिम छ ,उहाँको भनाइ थियो ।अबको निर्वाचनमा काङ्ग्रेसलाई थप ७ प्रतिशत मत थप्ने चुनौती रहेको चर्चा गर्दै काङ्ग्रेस ,एमाले , माओवादी र मधेसवादी दलबाट भड्किएको मतले नयाँ दल आएको बताउनुभयो । 

मोरङ काँग्रेसका सभापति डिगबहादुर लिम्बूको सभापतित्वमा भएको सम्मेलनमा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवम् संविधानसभा सभा सदस्य डाक्टर डिला सङ्ग्रौला, केन्द्रीय सदस्य एवम् कोशी प्रदेश सभा सदस्य अमृत अर्याल, केन्द्रीय सदस्य एवं कोशी प्रदेश सभा सदस्य भीम पराजुलीले शुभकामना दिनु भएको थियो ।

 यसैगरी कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की, कोशी प्रदेशमा नेपाली काङ्ग्रेसका संसदीय दलका नेता उद्धव थापा, राष्ट्रिय सभामा नेपाली काङ्ग्रेसका नेता रमेशजँङ्ग रायमाझी ,मोरङ ३ का प्रतिनिधि सभा सदस्य डाक्टर सुनिलकुमार शर्माले पार्टीमा अनुशासन गुमेको चर्चा गर्नु भएको थियो ।

 यसैगरी उद्घाटन सत्रमा नेपाली काङ्ग्रेसका पूर्व केन्द्रीय सदस्य गुरुराज घिमिरे , रामकृष्ण भट्टराई ,नेपाली काङ्ग्रेस झापाका सभापति देउमान थेबे, भोजपुरका सभापति एवं कोशी प्रदेश सभा सदस्य  विनोदकुमार बान्तवा,कोशी प्रदेश सभा सदस्य गयानन्द मण्डल ,विराटनगर महानगरका नगर प्रमुख नागेश कोइराला,महासमिति सदस्य वसन्त भट्टराई, नेपाल मुस्लिम सङ्घका केन्द्रीय अध्यक्ष डाक्टर अतावुल अन्सारी, क्षेत्र नम्बर ३ का क्षेत्रीय सभापति गणेश खड्का र रङ्गेली नगर समितिका सभापति जगरनाथ मण्डलले शुभकामना मन्तव्य दिनु भएको थियो ।

सम्मेलनमा जिल्लाका १७ पालिकाका १५९ वडाबाट निर्वाचित तीन हजार ५५५ जना क्षेत्रीय प्रतिनिधि मध्ये ६० प्रतिशत प्रतिनिधिको  उपस्थिति रहेको मोरङ ३ का क्षेत्रीय सचिव राजेन्द्र अधिकारीले बताउनुभयो ।मोरङमा नेपाली काङ्ग्रेसका तीस हजार ६२९ क्रियाशील सदस्य छन् । 

क्रियाशील सदस्यले प्रत्यक्ष निर्वाचनबाट क्षेत्रीय प्रतिनिधि छनौट गरेपछि तीनै क्षेत्रीय प्रतिनिधिले काङ्ग्रेसको गाउँ (नगर ,प्रदेश र प्रतिनिधिसभा निर्वाचन क्षेत्र र जिल्लाको नेतृत्व चयन गर्ने व्यवस्था छ ।