अविनाश चौधरी
धनगढी, मङ्सिर ७ गते । अनलाइनबाट ठगी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । सो अपराधमा संलग्न नेपाल, भारतका नौ जनालाई प्रहरीले धनगढी उपमहानगरपालिका–५ तारा नगरबाट हिजो साँझ पक्राउ गरेको हो ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय धनगढी, प्रदेश प्रहरी कार्यालयको आरआइटी टोली र प्रदेश प्रहरी कार्यालय महेन्द्रनगरबाट खटेको प्रहरीको संयुक्त टोलीले उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक कुल दीप चन्दले जानकारी दिनुभयो । पक्राउ पर्नेमा कञ्चनपुरको बेलडाँडी गाउँपालिका–२ का ३० वर्षीय विशाल सुनार, वर्ष २८ का कमल सुनार, वर्ष २२ का जयराम सुनार, भारतको दिल्ली पालङ्गा बस्ने वर्ष ३२ का अमित कुमार छन् । यस्तै, दिल्लीको उत्तम नगर बस्ने वर्ष २६ का कुनाल शर्मा, दिल्लीको करोलबाग बस्ने निखिल कुमार, दिल्ली बस्ने प्रियंसु टापु, डोटीको शिखर नगरपालिका–१० का २१ वर्षीय प्रशान्त बलायर र कञ्चनपुरको पुनर्वास नगरपालिका–६ का २९ वर्षीय मीनबहादुर सुनार पनि पक्राउ परेका छन् ।
विशाल सुनारले अवैध रूपमा आइटी सञ्चालन गरी अनलाइन ठगी गरिरहेको विशेष सूचनाको आधारमा प्रहरीले गिरोहका व्यक्तिहरूलाई पक्राउ गरेको हो । उनीहरूले तारानगरस्थित शिवदत्त पाण्डेयको पक्की घरको दोस्रो तलामा आइटी सेन्टर सञ्चालन गरेका थिए । अनलाइन ठगी गर्ने सो गिरोहले मनी लाउण्ड्रीङ, बिमा दुर्घटना लगायत विषयमा विशेष गरेर पोल्यान्डका नागरिकलाई ठगी गर्ने गरेको प्रहरी नायब उपरीक्षक चन्दले बताउनुभयो । उहाँले पक्राउ परेकाहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धानको कार्य भइरहेको जानकारी दिनुभयो ।
पक्राउ परेका व्यक्तिहरूको साथबाट प्रहरीले विभिन्न कम्पनीको ११ वटा ल्यापटप, आठ थान मोबाइल, वर्ल्ड लिङ्कको एक थान राउटर, १२ थान हेडफोन र एक थान किबोर्ड बरामद गरेको छ ।