काठमाडौँ, मङ्सिर ७ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सङ्घीय लोकतान्त्रिक गणतन्त्र उल्टाउन चाहने प्रतिगामीको सपना कहिल्यै पूरा नहुने बताउनुभएको छ । नेपाल सरकारको मन्त्रीपरिषद्ले सरकारी लिखतमा नेपाल संवत्समेत उल्लेख गर्ने निर्णयको स्वागतमा प्रधानमन्त्रीलाई सम्मान गरिने कार्यक्रममा मन्तव्य राख्नुहुँदै प्रधानमन्त्री ‘प्रचण्ड’ ले सो कुरा बताउनुभएको हो ।
“आजको परिवर्तन साना दुःखले आएको होइन । यो व्यवस्थाका निम्ति हजारौँले रगत बगाएका छन् । हजारौँले जेलनेल भोगेका छन् । लाखौँ जनताले सङ्घर्ष गरेका छन्,” उहाँले भन्नुभयो, “यो व्यवस्था कसैले उल्टाउन खोज्छ भने त्यो सपना मात्रै हुने छ ।”
प्रधानमन्त्री ‘प्रचण्ड’ ले संसारभर सामन्ती तत्वहरूले अन्तिम पटक टाउको उठाउने कोसिस गर्ने गरेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “सङ्घीय लोकतान्त्रिक गणतन्त्र उल्टाउने सपना कसैले नदेख्दा हुन्छ । यस्तो दुष्प्रयास गर्नेहरूले फेरि अर्को मूल्य चुकाउनुपर्ने छ ।”
उहाँले नेपाल संवत्लाई व्यवहारमा कार्यान्वयन गर्नुपर्ने बताउनुभयो । “नेपाल संवत् दस्ताबेजमा लेखेर मात्रै हुँदैन । नेपाल संवत् राष्ट्रिय संवत् हो, हाम्रो संवत् हो । राष्ट्रिय विभूतिसँग सम्बन्धित संवत् हो,” प्रधानमन्त्रीले भन्नुभयो, “यसलाई एक मात्र संवत् बनाउन बहस र छलफल केन्द्रित गर्नु पर्छ ।” उहाँले २०६५ सालमा नेपाल संवत्लाई राष्ट्रिय संवत्को रूपमा घोषणा गर्दा इतिहास, तर्क, तथ्य, प्रमाणसहित पद्मरत्न तुलाधार र दुर्गालाल श्रेष्ठलगायतले उल्लेख गरेपछि आफू सहमत भएको उल्लेख गर्नुभयो ।
कार्यक्रममा नेपाली कांग्रेसका नेता भीमसेनदास प्रधानले नेपालले उत्कृष्ट संविधान पाएको बताउनुभयो । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का नेता जीवनराम श्रेष्ठले सङ्घीय लोकतान्त्रिक गणतन्त्रभन्दा राम्रो व्यवस्था अरू हुन नसक्नेमा जोड दिँदै त्यसको रक्षार्थ दृढतापूर्वक अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
‘साख्वाःको सपना समानतामा आधारित’
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राष्ट्रिय विभूति शङ्खधर साख्वाःको सपना सामाजिक न्याय र समानतामा आधारित भएकाले आज पनि सपना पूरा गर्ने कार्यभार बाँकी रहेको बताउनुभयो । राष्ट्रिय विभूति शङ्खधर साख्वाः दिवसको अवसरमा पद्मरत्न लुमन्ती गुथिले शङ्खधर उद्यान रत्नपार्कमा आयोजना गरेको कार्यक्रमलाई बुधबार सम्बोधन गर्दै उहाँले राजनीतिक व्यवस्था अनुकूल जनताको अवस्था परिवर्तन गरेर सामाजिक न्याय र समानताको सपना पूरा गरिने बताउनुभयो ।
उहाँले शङ्खधरले संवत् ९३६ मा गरिबलाई ऋणमुक्त गर्ने र पशुपतिमा शूद्र जातिलाई प्रवेश गराएको र त्यसकै सम्मानमा नेपाल संवत् सुरु गरिएको बताउनुभयो । “एकातिर गरिब जनतालाई ऋणमुक्त गर्नु र अर्कोतिर जातीय विभेदको अन्त्यका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्ने शङ्खधर साख्वाःबाट आजको पुस्ताले उल्लेखनीय प्रेरणा लिनु जरुरी छ,” उहाँले भन्नुभयो, “अहिले पनि हामीले वर्गीय, जातीय, क्षेत्रीय, लैङ्गिकलगायतका तमाम उत्पीडनबाट मुक्तिका लागि काम गरिरहेका छौँ ।” नेपालमा चलेका ठुला ठुला सङ्घर्ष र क्रान्तिहरू समानताका लागि भएको उल्लेख गर्दै उहाँले राजनीतिक रूपमा सबैखाले विभेदको अन्त्य गरी समतामूलक समाज निर्माण गरिने उल्लेख गर्नुभयो ।
“आजका दिनमा हेर्दा राजनीतिक व्यवस्था परिवर्तन गरे पनि जनताको अवस्था परिवर्तन गर्न बाँकी नै छ,” मन्त्री शर्माले भन्नुभयो, “त्यसैले हामीले राजनीतिक व्यवस्था अनुकूल जनताको अवस्था परिवर्तन गर्न सुशासन, समृद्धि र सामाजिक न्यायको बाटो हुँदै समाजवादको आधार तयार पार्नु पर्छ भनिरहेका छौँ ।” उहाँले शङ्खधरको योगदानको स्मरण गरिरहँदा आज पनि धेरै कुरासँग मेल खाने अवस्था रहेको उल्लेख गर्नुभयो ।
काठमाडौँ महानगरका पूर्वमेयर विद्यासुन्दर शाक्यले शङ्खधरले गरेको त्याग र तपस्यालाई संस्थागत गर्न लागेको बताउनुभयो । उहाँले नेपाल संवत् कुनै जाति वा समुदायगत नभई राष्ट्रिय संवत् भएकाले कार्यान्वयनतर्फ लाग्नुपर्नेमा जोड दिनुभयो ।