प्रेमराज सिम्खडा
कालीकोट मङ्सिर ६ गते। कालीकोट जिल्लामा एक शिक्षकको शङ्कास्पद मृत्यु भएको छ। रास्कोट नगरपालिका वडा नम्बर २ निवासी शिक्षक मनी सार्कीको आफ्नै खर्कमा शङ्कास्पद मृत्यु भएको हो। राति मदिरा सेवन गरेर गाउँ गएका सार्की बिहान हेर्दा आफ्नै खर्कमा झुण्डिएको अवस्थामा भेटिएका हुन्।
जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी प्रमुख डिएसपी अजुर्न केसीले मृत्युको कारण नखुलेको तर मृत्यु शङ्कास्पद भएको बताउनुभयो। राति श्रीमतीसँग सामान्य विवादपछि घरबाटै कुखुरा समातेर गाउँ पसेका थिए। बिहान श्रीमतीले हेर्दा झुण्डिएको अवस्थामा फेला परेका हुन्। मुख र नाकमा चोट भएकाले घटना शङ्कास्पद भएको डिएसपी केसीले सुनाउनुभयो।
सार्कीको शव रास्कोट अस्पतालमा पोस्टमार्टमपछि आफन्तले अन्तिम संस्कारका लागि बुझिसकेका छन्। यता प्रहरीले विभिन्न तरिकाले अनुसन्धान जारी राखेको बताएको छ। मृतक सार्की वडा नम्बर २ कै मोतीराम माध्यमिक विद्यालयमा निमावि गणित राहत कोटाका शिक्षक हुन्। सार्कीका दुई छोरा, एक छोरी श्रीमती र बुवा छन्।