• १२ मंसिर २०८१, बुधबार

भूकम्पपीडितका लागि स्वास्थ्यकर्मीको टोली प्रभावित क्षेत्रमा

blog

दार्मा गाउँपालिकामा रहेका भूकम्प प्रभावितको उपचार गर्दै जिल्ला अस्पताल सल्यानका चिकित्सक टोली । तस्बिर : प्रतीक शर्मा ‘इच्छुक’

प्रतीक शर्मा ‘इच्छुक’

सल्यान, मङ्सिर ६ गते । भूकम्प प्रभावित क्षेत्र सल्यान दार्मामा स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको छ । त्रिपालमुनिको चिसोले पीडितहरू बिरामी पर्न थालेपछि स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको हो । 

गत कात्तिक १७ गते राति गएको भूकम्पबाट प्रभावित भएका जिल्लाको दार्मा गाउँपालिकाका भूकम्पपीडितहरू बिरामी पर्न थालेपछि घरैमा गएर स्वास्थ्य जाँच गर्न थालिएको छ । चिसोका कारण बालबालिका, सुत्केरी, बृद्धबृद्धा बिरामी परेपछि बिरामीको घरमा गएर स्वास्थ्य उपचारको व्यवस्था गरिएको छ । 

दार्मा गाउँपालिकाका अध्यक्ष निमबहादुर केसीले अधिकांश भूकम्पपीडित त्रिपालमुनि बस्दैआएको र उहाँहरूमा स्वास्थ्य समस्या देखिन थालेपछि स्वास्थ्य सेवा कार्यालय सल्यान र दार्मा गाउँपालिकाको स्थानीय व्यवस्थापनमा स्वास्थ्य उपचार थालिएको बताउनुभयो । 

उहाँका अनुसार स्वास्थ्य उपचारका लागि स्वास्थ्य सेवा कार्यालयका प्रमुख डा. अर्जुन बुढामगर लगायत डाक्टर, स्वास्थ्यकर्मी र पालिकाको स्वास्थ्यकर्मीसहित १४ जनाको टोली खटिएको छ । खटिएको टोलीले जनज्योति मावि फारुलामा अध्ययनरत विद्यार्थीबाट स्वास्थ्योपचार सुरु गरेको थियो ।

भौगोलिक विकटताका कारण पालिकाका सबैलाई समेट्न नसकिने र बिरामी परेको समेत उपचारका लागि जान नसक्ने अवस्था सिर्जना भएपछि बिरामी परेकाको घरमा गएर स्वास्थ्य उपचार गर्न थालिएको  हो । दार्मा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख यज्ञबहादुर बस्नेतका अनुसार भूकम्पका कारण दार्मामा झन्डै १ हजार १ सय बढी घरमा बस्नै नमिल्ने गरी क्षति भएको छ । १ हजार बढी आंशिक क्षति भएका छन् । 

जसका कारण २ हजार बढी विस्थापित भएर घर नजिकैको खुला स्थानमा त्रिपाल टाँगेर बस्दैआएका छन् । खुला स्थानमा बस्नु पर्दा बालबालिकामा निमोनिया, सुत्केरी तथा ज्वरो र बुढाबुढीमा दमको समस्या देखिएको छ ।

स्वास्थ्य उपचारमा खटिएका स्वास्थ्य सेवा कार्यालय सल्यानका प्रमुख डा. अर्जुन बुढामगरले सामान्य रुघाखोकी, ज्वरो आउने, टाउको दुख्नेलगायतका समस्या देखिए पनि त्यस्तो जटिल समस्या नदेखिएको बताउनुभयो । उहाँका अनुसार चिसोले गर्दा बालबालिका, सुत्केरी तथा बुढाबुढी समस्यामा परेका कारण कुनै पनि रोगको महामारीको रूप लिन नपाओस् भनेर स्वास्थ्य उपचार सेवा सञ्चालन गरिएको छ ।  

दार्मा गाउँपालिकामा भूकम्पका कारण झन्डै १ हजार १ सय बढी घरमा बस्नै नमिल्ने गरी क्षति भएको थियो । १ हजार बढी घरमा आंशिक क्षति भएको छ । जसका कारण २ हजार बढी विस्थापित भएर घरनजिकैको खुला स्थानमा त्रिपाल टाँगेर बस्दै आएका छन् ।