नेत्र शाही
जुम्ला, मङ्सिर ६ गते । दाउरा लिएर आउने क्रममा ढुङ्गा लागेर एक महिलाको मृत्यु भएको छ । प्रहरीका अनुसार कालिकोटको तिलागुफा नगरपालिका–७ राचुल्ली घर भएकी २२ बर्षीया कमला विक कामीको ढुङ्गा लागेर ज्यान गएको हो ।
जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी उमेश चन्दका अनुसार गाउँबाट केही टाढा दाउरा लिन गएका बेला माथिबाट खसेको ढुङ्गा टाउकोमा लागेर गम्भीर घाइते हुनुभएकी र उपचारको क्रममा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचारको क्रममा निधन भएको छ ।
प्रहरी निरीक्षक तथा सूचना अधिकारी चन्दका अनुसार कर्णाली प्रतिष्ठानमा उपचारको क्रममा निधन भएको र पोष्टमार्टम गरी दाहसंस्कारका लागि घर लगिएको जानकारी दिनुभयो ।
कालिकोट तिलाको राचुल्लीमा विवाह गर्नुभएकी महिलाको जुम्लाको हिमा गाउँपालिका –१ बड्कीगाउँ माइती घर हो । स्थानीय हरिस विकका अनुसार मृत कमलाको श्रीमान् र २ वर्षको एक छोरा छन् ।