• ११ मंसिर २०८१, मङ्गलबार

कृषि विश्वविद्यालयको पहिलो सम्मेलन चितवनमा

blog

ग्राजुएट सम्मेलनबारे जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलन । तस्विर : शान्ता अधिकारी

शान्ता अधिकारी

चितवन, मङ्सिर ६ गते । कृृषि तथा वन विज्ञान विश्वविद्यालयले बिहीबारदेखि तीन दिवसीय ग्राजुएट (पहिलो स्नातक कार्यशाला) सम्मेलन गर्ने भएको छ । विश्वविद्यालयले अनुसन्धानको क्रममा गरेको उपलब्धीहरुलाई सार्वजनिक गरि प्राज्ञिक र सरोकारवालामा जानकारी दिने उद्देश्यका साथ उक्त सम्मेलन गर्न लागेको विश्वविद्यालयले जनाएको छ।

बिहीबारदेखि सुरु हुने उक्त सम्मेलनको बारेमा बुधबार एक पत्रकार सम्मेलन गर्दै जानकारी दिइएको छ । उक्त सम्मेलनमा बोल्दै विश्वविद्यालयका उपकुलपति प्रा.डा. पुण्यप्रसाद रेग्मीले तीनदिने उक्त सम्मेलनमा नेपाली र विदेशी वैज्ञानिकहरुले कार्यपत्र प्रस्तुत गर्ने जानकारी दिनुभयो । उहाँका अनुसार विश्वविद्यालयका प्राध्यापक र विद्यार्थीहरुले हालसम्म गरेका सफल अनुसन्धानलाई सार्वजनिक गरिनेछ भने विश्वमा विकसित नवीनतम उपलब्धिको बारेमा पनि समीक्षा र छलफल एवम् अन्तरक्रिया गरिने कार्ययोजना छ । 

नेपालको एक मात्र प्रविधिक उपाधि पाएको उक्त विश्वविद्यालयको अनुसन्धान विभागले आयोजना गर्ने उक्त सम्मेलनमा संयुक्त राज्य अमेरिका, भारत, जापान, स्वीडेन, नेदरल्याण्ड र ताइवानका वैज्ञानिकहरुले प्रतिनिधित्व गर्ने सुनिश्चित भएको बताइएको छ । यसबाहेक सम्मेलनमा नेपालमा क्रियाशील सरकारी र गैरसरकारी विभिन्न अन्तर्राष्ट्रिय सङ्घसंस्थाको प्रतिनिधित्व रहने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

शिक्षा र अनुसन्धानमार्फत कृषिको रुपान्तरण मुख्य विषयवस्तु रहेको उक्त सम्मेलन एक सयभन्दा बढी कार्यपत्रहरु प्रस्तुत गरिने जानकारी सम्मेलन संयोजक डा. ऋषिराम कट्टेलले जानकारी दिनुभयो । विदेशी र स्वदेशी वैज्ञानिक कृषि विश्वविद्यालयका ग्राजुएट र प्राध्यापकहरुले कृषि, पशुविज्ञान, भेटेरिनरी विज्ञान, मत्स्यविज्ञान र वनविज्ञानसम्बन्धी विषयमा विकास गरेका नवीनतम उपलब्धिलाई सम्मेलनमा प्रस्तुत गरिने छ । उक्त सम्मेलनले विश्वविद्यालयको आगामी अनुसन्धानको मार्ग तय गर्ने अपेक्षा आयोजकको छ ।

नेपालको कृषिको अधुनिकीकरण, व्यवसायिकीकरण र विविधिकरण गर्दै उच्च र दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथ शिक्षण, अनुसन्धान र प्रसारको समेत अधिकारप्राप्त कृषि तथा वन विज्ञान विश्वविद्यालय नेपालको पहिलो अनुसन्धान केन्द्रीत विश्वविद्यालय हो । २०६७ सालमा स्थापना भएको यस विश्वविद्यालयमा कृषिविज्ञान, पशुविज्ञान, मत्स्यविज्ञान र वन विज्ञानतर्फको स्नातकदेखि विद्यावारिधिसम्मको अध्ययन अध्यापन गराउँदै आएको छ । विश्वविद्यालयमा हाल स्नातकतर्फ छ सय, स्नातकोत्तरतर्फ २५० जना र एक सय देखि १२५ जनाले विद्यावारिधि गर्दै आएका छन् ।

चितवनको रामपुरमा मुख्य कार्यालय रहेको यस विश्वविद्यालयका कास्कीको पुरानचौर, सिन्धुलीको कपिलाकोट, बर्दिवासको महोत्तरी, रोल्पाको माडी चौर, कैलालीको टीकापुर, धनकुटाको पाख्रिवास, बाँकेको खजुरा र दैलेखको दुल्लुमा आफ्नै कलेज छन् ।