• ११ पुस २०८१, बिहिबार

३८ करोड वर्ष पुरानो मुटु !

blog

पश्चिमी अस्ट्रेलियाको किम्बरले क्षेत्रको पर्वतमालास्थित फिट्जराय क्रसिङ सहर नजिक संसारकै सबैभन्दा राम्रोसँग संरक्षित प्राचीन मुगा पर्वत छ । त्यहाँ प्राचीनकालको समुद्री जनावरका असङ्ख्य अवशेष राखिएको छ, जसमा प्लेकोडर्म पनि रहेको छ । त्यहाँ प्लेकोडर्मको ३८ करोड वर्ष पुरानो मुटु राखिएको छ । 

सन् १९४० को दशकमा फिट्जराय क्रसिङको नजिक उक्त माछाको जिवावशेष फेला परेको थियो तर सन् १९६० को दशकसम्म थ्रिडी संरक्षण प्रविधिको उपलब्धता हुँदासम्म यसको खुलासा हुन सकेन । यस प्रविधिमा हल्का एसिडिक अम्लको प्रयोग गरी हड्डीबाट चट्टान हटाइन्छ । उक्त प्लेकोडर्मको जीवाश्ममा मांसपेशीका टुक्रा फेला परेका थिए ।

त्यसपछि एक्सरे पद्धतिको प्रयोग गरी सन् २०१० मा प्लेकोडर्मका अन्य मांसपेशी पत्ता लगाइयो । जसमा गर्धन तथा पेटका मांसपेशी थिए । त्यसक्रममा शोधकर्ताले डोभेनियाई कालका माछामा कलेजो, पेट तथा आन्द्रासमेत रहेको पत्ता लगाए ।

शोधकर्ताले उक्त माछामा गरेको सबैभन्दा रोचक खोज चाहिँ मुटु थियो । एक्सरे प्रविधिको प्रयोग गरी वैज्ञानिकहरूले प्लेकोडर्मको पहिलो मुटु पत्ता लगाएका थिए । त्यसपछि न्युट्रन इमेजिङ प्रविधिको प्रयोग गरी एक छुट्टै नमुनामा अर्को मुटुको पनि खोज गरे ।

त्यसक्रममा वैज्ञानिकहरूले प्लेकोडर्मको मुटु उसको मुखमा हुने गरेको तथ्य पत्ता लगाए । त्यसबेला कुनै ढाड भएको जीवको गर्धन यति सानो थियो कि मुटु गर्धनको पछाडि र गिल्सको तल हुन्थ्यो ।