• १७ असार २०८१, सोमबार

सहायक सामग्रीले बढायो आत्मविश्वास

blog

बुटवल समाचारदाता

बुटवल, मङ्सिर ६ गते । अपाङ्गता भएकालाई स्वरोजगार बनाउने उद्देश्यसहित अपाङ्गता सहायक सामग्री वितरणपछि अपाङ्गता भएकाहरूमा केही गर्न सकिन्छ भन्ने आत्मविश्वास बढेको छ ।

सहायक सामग्री वितरणले अपाङ्गता भएकामा केही गरेर देखाउने आत्मविश्वास पलाएको मात्रै छैन आत्मनिर्भर भएर देखाउने हिम्मत पनि जुटेको उनीहरूको भनाइ छ ।

रुपन्देहीको कञ्चन गाउँपालिका र अपाङ्गता बाल अस्पताल पुनस्र्थापना केन्द्रले अपाङ्गता भएकालाई सहायक सामग्री वितरण गरेको थियो । अपाङ्गता सहायक सामग्री पाएपछि कञ्चन–१ का रामप्रसाद पौडेलले अपाङ्गता भएकाले समाजका लागि केही काम गरेर देखाउन सक्छन् भन्ने आत्मविश्वास बढेको बताउनुभयो । 

पालिका र पुनस्र्थापना केन्द्रले सहायक सामग्रीको भर पर्नुपर्ने अवस्थामा अपाङ्गता भएकालाई ह्विलचेयर ११, सेतो छडी १०, जुत्ता २२, हेरिङ हेड पाँच, वाकर चार र बैसाखी १० जनालाई वितरण गरेको थियो । 

अपाङ्गता भएका विक्रम पौडेलले अपाङ्गता भएकाका लागि सहायक सामग्री वितरण गरिएपछि हिँडडुल गर्न सहयोग पुगेको र आंशिक अपाङ्गता भएकालाई केही गर्न सकिन्छ कि भन्ने आत्मविश्वास बढेको बताउनुभयो । 

कञ्चन गाउँपालिकाका अध्यक्ष नवराज ढकालले अपाङ्गता भएकालाई विभिन्न तालिमसमेत सञ्चालन गरेर उनीहरूलाई काममा जोड्ने कामसमेत गरेको बताउनुभयो । 

उहाँले अपाङ्गता भएकालाई स्वास्थ्य शिविर चलाएको र पछि सहायक सामग्री वितरण गरेर कञ्चन गाउँपालिकाले मानवीय चेत दर्साउन सफल भएको बताउनुभयो ।

कन्चन गाउँपालिकाकी उपाध्यक्ष मौसमी थापा मगरले शारीरिक रूपमा अपाङ्गता भएकालाई अरूको सहाराको आवश्यकता पर्ने भएकाले उनीहरूलाई समाजले पनि आत्मविश्वास जगाइदिन महत्वपूर्ण सहयोग गर्नुपर्ने बताउनुभयो । 

हिँडडुल गर्नसमेत अरूको सहारा लिनुपर्ने कञ्चन–४, हरैयाका विष्णु गौतमले ह्विलचेयर पाएपछि आफ्नै घरमा सिलाइकटाइको पसल चलाउनुभएको छ । गौतमले ह्विलचेयरले आफूलाई काम गर्न जोसजाँगर बढाएको र अपाङ्गता भएकाले पनि केही गर्न सक्छन् भन्ने आत्मविश्वास सिर्जना गरेको बताउनुभयो ।