• २८ वैशाख २०८२, आइतबार

कांग्रेसले अस्थायी घरटहरा बनाइदिने

blog

काठमाडौँ, मङ्सिर ६ गते । नेपाली कांग्रेसले कात्तिक १७ गतेको जाजरकोट भूकम्पपीडितका लागि एक हजार घरटहरा निर्माण गर्ने भएको छ । कांग्रेस केन्द्रीय सदस्य एवं सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माका अनुसार श्रमदानमै अस्थायी घरटहरा निर्माण गर्ने निर्णय भएको हो । 

महामन्त्री गगनकुमार थापाको सभापतित्वमा मङ्गलबार बसेको पदाधिकारी, केन्द्रीय सदस्य, भ्रातृ सङ्घ तथा शुभेच्छुक संस्थाको बैठकले जाजरकोट र रुकुमपश्चिमका भूकम्प प्रभावित क्षेत्रका अस्थायी घरटहरा निर्माण अघि बढाउने निर्णय गरेको हो ।

नेता विश्वकर्माले १०–१० जना सम्मिलित २५ वटा समूह बनाउने, १३ टोलीलाई तत्कालै जाजरकोट र रुकुमपूर्व पठाउने, प्रत्येक समूहमा कम्तीमा एक जना निर्माणसम्बन्धी विज्ञ, दुई जना दक्ष मिस्त्री र सात जना स्वयं सेवक रहने बताउनुभयो ।  

उक्त समूहमा कांग्रेसकै नेताकार्यकर्ता रहने र प्रत्येक समूहले सात दिन काम गर्ने र १० जनाको समूह एकै स्थानमा अस्थायी बसोवास गरी श्रमदान गर्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “यी कुनै पनि समूह वा समूहमा आबद्ध व्यक्तिले भूकम्पपीडित व्यक्ति, परिवारलाई कुनै पनि किसिमको आर्थिक भार पार्ने छैनन् ।”

उहाँका अनुसार भूकम्प प्रभावित क्षेत्रका सुत्केरी महिला, वृद्धवृद्धा, दीर्घ रोगी, अपाङ्गता भएका, गम्भीर घाइते र आर्थिक, सामाजिक दृष्टिले पिछडिएको परिवारको अस्थायी घरटहरा निर्माण पहिलो प्राथमिकतामा रहने छन् । 

उहाँले श्रमदानमा खटिएका जनशक्तिका साथमा सामान्य स्वास्थ्य र मानसिक स्वास्थ्यसम्बन्धी शिविर सञ्चालन गर्न प्रजातन्त्रवादी चिकित्सक सङ्घका चिकित्सक परिचालन गर्ने र प्रभावित क्षेत्रमा पठनपाठन सुचारु गर्न आवश्यक भौतिक तथा अन्य बन्दोबस्त मिलाउन नेपाल शिक्षक सङ्घले सामूहिक रूपमा कार्य गर्ने बताउनुभयो ।

उहाँका अनुसार नेपाल विद्यार्थी सङ्घ केन्द्रीय समितिले आफ्नै खर्चमा हाल चार वटा अस्थायी विद्यालय र चाँडै दुई वटा स्थायी पक्की विद्यालय भवन बनाउने बताउनुभयो । उहाँले नेपाल ट्रेड युनियन कांग्रेसले भूकम्प प्रभावित क्षेत्रका अति विपन्न तथा जीविकोपार्जनका माध्यम गुमाएका असहाय परिवार तथा श्रमिकको पुनस्र्थापनासम्बन्धी अध्ययन गरी आवश्यक साधनस्रोत उपलब्ध गराउने बताउनुभयो ।