• २० पुस २०८१, शनिबार

फिफा विश्वकप छनोट : नेपाल यमनसँग पराजित

blog

बल खोस्ने प्रयास गर्दै नेपाल र यमनका खेलाडी । तस्बिर : एन्फा

काठमाडौँ, मङ्सिर ५ गते । फिफा विश्वकप २०२६ र एएफसी एसियन कप २०२७ को संयुक्त छनोटअन्तर्गत दोस्रो चरणको दोस्रो खेलमा नेपाल यमनसँग पराजित भएको छ । 

समूह ‘एच’ अन्तर्गत त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा मङ्गलबार साँझ भएको खेलमा नेपाल यमनसँग २-० गोलले पराजित भयो । नेपालको यो लगातार दोस्रो हार हो । एकसाता अघि समूहको पहिलो खेलमा नेपाल संयुक्त अरब इमिरेट्स (यूएई) सँग उसैको मैदानमा ४-० गोलले पराजित भएको थियो । 

घरेलु मैदानमा १३ हजार सात सय ३५ दर्शकको साथ पाएको नेपाली टोलीले दोस्रो हाफमा गोल खाएको थियो । पहिलो हाफमा औसत प्रर्दशन गरेको नेपाल दोस्रो हाफको अन्तिम २० मिनेट सम्हालिन सकेन ।

यमनको जितमा दुवै गोल दोस्रो हाफमा वैकल्पिक खेलाडीबाट सम्भव भयो । ओमार अब्दुल्लाह अलदाहीले ७२औँ र मोहम्मद अब्दुल्लाह अलदाहीले ९०औँ मिनेटमा गोल गर्दै यमनलाई महत्वपूर्ण जित दिलाउनुभयो ।

ओमारले डिबक्स छेउबाट नेपालका चार रक्षकलाई छल्दै उत्कृष्ट गोल गर्नुभएको थियो । जसलाई नेपालका गोलरक्षक किरण चेम्जाङले नियाल्न सक्नुभएन । पहिलो गोलपछि अत्तालिएको नेपालले अन्तिम समयसम्म दबाब झेलेको थियो ।

समूहमा दुई खेल खेलेको यमनको यो पहिलो जित हो । यसअघिको खेलमा यमन बहराइनसँग २-० गोलले पराजित भएको थियो । जितसँगै यमनले तीन अङ्क बनाएको छ । नेपाल अङ्कबिहिन छ । 

यसै खेलबाट नेपालका राजेश परियारले राष्ट्रिय टोलीमा डेब्यु गर्नुभएको छ । उहाँ ७२औँ मिनेटमा अञ्जन विष्टको स्थानमा मैदान प्रवेश गर्नुभएको थियो । 

दोस्रो चरणको छनोट खेलअन्तर्गत यस समूहमा नेपालसँगै यमन, युएई र बहराइन छन् । समूह विजेता र दोस्रो हुने टोलीले विश्वकप छनोटको तेस्रो चरणका साथै २०२७ एसियन कपमा सोझै स्थान बनाउने छन् ।