• १९ असार २०८१, बुधबार

सङ्क्रमणकालीन न्याय विधेयक हिउँदे अधिवेशनमा पारित गर्नैपर्छ : कानुनमन्त्री गुरुङ

blog

कार्यक्रममा सहभागी कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ । साथमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत ।

काठमाडौं, मङ्सिर ५ गते। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक संसद्को हिउँदे अधिवेशनमा पारित गर्ने बताउनुभएको छ। सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक र सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक अति आवश्यक भएकाले अब सुरु हुने संसद्को हिउँदे अधिवेशनमा त्यसलाई टुङ्गो लगाउनै पर्ने उहाँको भनाइ थियो। 

मंगलबार काठमाडौँमा आयोजित ‘विस्तृत शान्ति सम्झौताको १८ वर्ष: अधुरो सङ्क्रमणकालीन न्याय प्रक्रियाको ठोस समाधान’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री गुरुङले १७/१८ वर्षदेखि थाँती रहेको सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयक पारित छिटो पारित हुनुपर्छ भन्नेमा सरकारलाई सबैले साथ दिनुपर्ने बताउनुभयो।

उहाँले भन्नुभयो, ‘‘अब आउने हिउँदे अधिवेशनमा यो टिआरसी बिल र अर्को चाहिँ सम्पत्ति शुद्धीकरण सम्बन्धी बिल एकदमै आवश्यक परेकाले यसलाई टुङ्ग्याउनुपर्छ। यसलाई छिटो टुङ्ग्याउनेमा छौँ। त्यसपछि सङ्घीय निजामती ऐन टुङ्ग्याउने छौँ। सङ्घीय प्रहरी ऐन टुङ्ग्याउनु छ। यस्ता थुप्रै छन्। यसमा तपाईँहरूको सद्भाव, सहयोग रहन्छ भन्ने मलाई विश्वास छ। किनभने समितिमा पनि छलफलको क्रममा हामीले धेरै पीडित साथीहरूसँग पनि छलफल गरेका छौँ। तपाईँहरूको १७/१८ वर्षदेखि बगेको आँसु खेर जान दिन हुन्न भनेर नै हामी यसमा एकदम गम्भीर छौँ। धेरै गम्भीर ढङ्गले हामी लागि रहेको अवस्था हो। त्यसैले तपाईँलाई दुखेको पीडा मैले महसुस गर्नुपर्छ।’

मन्त्री गुरुङले सरकारले सङ्घीय निजामती सेवा ऐन, सङ्घीय प्रहरी ऐन ल्याउने काममा पनि ढिलाइ नगर्ने आश्वासन दिनुभयो।