• ४ पुस २०८१, बिहिबार

सङ्क्रमणकालीन न्यायको मुद्दामा एमालेको राजनीतिक स्वार्थ छैन : प्रदीप ज्ञवाली

blog

कार्यक्रममा सहभागी नेकपा (एमाले)का उपमहासचिव एवम् पूर्व परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलगायत ।

काठमाडौं, मङ्सिर ५ गते। प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का उपमहासचिव एवं पूर्व परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सङ्क्रमणकालीन न्याय सम्बन्धी मुद्दामा आफ्नो पार्टीको कुनै पनि राजनीतिक स्वार्थ नरहेको बताउनुभएको छ। 

उपमहासचिव ज्ञवालीले पीडितलाई न्याय दिने गरी सो मुद्दा टुङ्गोमा पुर्‍याउनुपर्ने पनि स्पष्ट पार्नुभयो। मंगलबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले एमालेले पीडितलाई न्याय दिने गरी सो मुद्दा छिटो भन्दा छिटो टुङ्गोमा पुर्‍याउनु चाहेको बताउनुभयो। 

उपमहासचिव ज्ञवालीले मानव अधिकारसम्बन्धी नेपालले जनाएको अन्तर्राष्ट्रिय प्रतिबद्धता, पीडितको सहमति र सर्वोच्च अदालतको आदेशको आधारमा सो मुद्दालाई टुङ्गो लगाउने काममा ढिलाइ गर्न नहुने पनि दोहोर्‍याउनु भयो।

उहाँले भन्नुभयो, ‘‘दण्डहीनता हुन्न। र, यो द्वन्द्व फेरि दोहोरिन्न भन्ने प्रत्याभूतिसहित यो विषयलाई टुङ्ग्याउनुपर्छ। सबैभन्दा ठुलो कुरा त पीडितले न्याय पायौँ भन्ने अनुभूति हुनुपर्छ। यो सङ्क्रमणकालीन न्याय चाहिएको पीडितलाई हो। यो विषयमा नेकपा एमालेको कुनै राजनीतिक स्वार्थ छैन। यसमा कुनै सर्त पनि छैन। सङ्क्रमणकालीन न्याय टुङ्गियोस्, तपाईँहरूको आँखामा रहेको आँसु पुछियोस्। तपाईँहरूमा थोरै भए पनि सन्तुष्टिको मुस्कान आउन सकोस्, हामीलाई त्यही चाहिएको हो। हामीलाई प्रधानमन्त्री चाहिएन। तर न्याय चाहियो पीडितलाई। नेकपा एमालेको धारणा यही छ।’’

उपमहासचिव ज्ञवालीले सङ्क्रमणकालीन न्यायलाई टुङ्गोमा पुर्‍याउँदा दण्डहीनता पनि हुन नहुने र फेरि मुलुकमा द्वन्द्व दोहोरिन नहुने कुराको पनि प्रत्याभूति हुनुपर्ने बताउनुभयो।