• ११ असोज २०८१, शुक्रबार

बढी भाडा लिने सवारी साधन कारबाहीमा

blog

दमौलीमा सवारी साधनको चेकचाँज गर्दै ट्राफिक प्रहरी ।

अमरराज नहर्की

तनहुँ, मङ्सिर ४ गते । जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले चाडपर्वको मौकामा बढी भाडा लिन १६ वटा सवारी साधनलाई कारबाही गरेको छ । दमौलीबाट काठमाडौँ जाने र पोखराबाट काठमाडौँ जाने माइक्रोले प्रतिव्यक्ति एक हजार रुपियाँ भाडा लिएको भेटिएपछि ट्राफिक प्रहरीले उक्त माइक्रोलाई जरिवाना तिराएर कारबाही गरेको छ भने यात्रुहरूको भाडा फिर्ता गराएको हो । 

दमौलीबाट काठमाडौँ छुट्ने माइक्रोले प्रतिव्यक्ति एक हजार रुपियाँ भाडा लिएको गुनासो आएपछि ट्राफिक प्रहरी कार्यालयका प्रमुख राजीव विष्टको नेतृत्वमा जाँच गरी सबै यात्रुहरूको भाडा फिर्ता गराइएको छ । दमौलीबाट काठमाडौँसम्मको भाडा छ सय ५० रुपियाँ रहेकोमा चाडपर्वको मौका छोपी केही सवारी साधनले एक हजार रुपियाँसम्म लिने गरेको गुनासो आएको थियो । 

बढी भाडा लिएका सवारीलाई एक हजारका दरले जरिवाना गर्नुका साथै बढी लिएको रकम फिर्ता गराइएको जिल्ला ट्राफिक कार्यालय तनहुँले जनाएको छ । काठमाडौँ र पोखरा जाने यात्रुसँग एक हजार भाडा लिएको र जहाँ झरेपनि एक हजार भाडा माग्ने गरेकोले पाइएको कारबाही गरिएको विष्टले बताउनुभयो । दसैँ, तिहार लगायतको पर्वका लागि आवत जावत गर्ने यात्रुहरूसँग बढी भाडा लिनसक्ने भन्दै कार्यालयले विभिन्न ठाउँमा छड्के चेकपोष्ट राखेको छ । 

लामो दुरीका सवारी साधनलाई केन्द्रित गर्दै ट्राफिक प्रहरीले चेकिङ गर्दै आएको हो । कारबाहीमा पर्नेमा अधिकांश माइक्रो बस रहेको ट्राफिकले जनाएको छ । सार्वजनिक सवारीसाधनले यात्रुबाट चर्को भाडा असुल्ने गरेको गुनासो आएपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले बढी भाडा लिने सवारीसाधनलाई कारबाही गरी भाडा फिर्ता गराइएको ट्राफिक प्रमुख विष्टले जानकारी दिनुभयो । चाड–पर्वलाई लक्षित गर्दै यात्रालाई सहज र आरामदायी बनाउने उद्देश्यले तनहुँको छ स्थानमा यात्रु सहायता कक्षा सञ्चालनमा ल्याइएको कुनै समस्या परेमा सम्पर्क सकिने व्यवस्था मिलाइएको उहाँले जानकारी दिनुभयो । 

चाडपर्वको बेलामा यात्रुले विभिन्न सास्ती पाउन सक्ने भएकोले पृथ्वीराजमार्ग अन्तर्गत आँबुखैरेनी, डुम्रे, दमौली, दुलेगौंडा र सहायक मार्गहरू भिमाद नगरपालिकाको भिमाद बजार र भानु नगरपालिकाको पुर्कोट, बाईसजाँगरमा ‘सहायता कक्ष’ स्थापना गरिएको विष्टले जानकारी दिनुभयो ।