• १२ मंसिर २०८१, बुधबार

मकवानपुरमा डेंगु सङ्क्रमितको सङ्ख्या ७६० पुग्यो

blog

अनिल पराजुली
हेटौँडा, मङ्सिर ४ गते । 
मकवानपुरमा डेंगु सङ्क्रमितको सङ्ख्या ७६० पुगेको छ । स्वास्थ्य कार्यालय मकवानपुरको तथ्याङ्कअनुसार जिल्लामा साउन १ गतेदेखि मङ्सिर ४ गतेसम्म पुरुष ३८८ र महिला ३७२ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको हो ।

गत २४ घण्टामा डेंगु सङ्क्रमितको सङ्ख्या शून्य रहेको छ । जाडोयाम सुरु भएसँगै मकवानपुरमा डेंगु सङ्क्रमितको सङ्ख्या घट्न थालेको हो । साउनबाट देखिन थालेको डेंगु कात्तिकबाट घट्दै गएको स्वास्थ्य कार्यालय मकवानपुरका सूचना अधिकारी लक्ष्मण घिमिरेले जानकारी दिनुभयो ।

जिल्लामा सबैभन्दा धेरै हेटौँडा उपमहानगरमा डेंगु सङ्क्रमित भेटिएका छन् । यहाँ ५२६ जनामा डेंगु सङ्क्रमण पुष्टि भइसकेको छ । जिल्लाको कैलाश गाउँपालिकामा भने डेंगु सङ्क्रमितको सङ्ख्या शून्य रहेको छ ।

त्यस्तै, थाहा नगरपालिकाका ३ जना, मकवानपुरगढी गाउँपालिकाका २० जना, बागमती गाउँपालिकाका २४ जना, मनहरी गाउँपालिकाका ६८ जना, इन्द्रसरोवर गाउँपालिकाका ४ जना, भीमफेदी गाउँपालिकाका ३७ जना, बकैया गाउँपालिकाका २५ जना र राक्सिराङ गाउँपालिकामा २ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ ।

त्यस्तै, हेटौँडा अस्पतालमा ४० जना र अन्य जिल्लाका ११ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । जिल्लामा डेंगु सङ्क्रमण कारण एक जनाको मृत्यु भएको थियो । मकवानपुमा गत आर्थिक वर्षमा पाँच हजार ८६४ जनामा डेंगु सङ्क्रमण भएको थियो जसमध्ये तीनहजार २०५ जना पुरुष र दुई हजार ६५९ जना महिला रहनुभएको थियो ।