• १५ मंसिर २०८१, शनिबार

स्तुल खोलामा बेलीब्रिज बन्दा तीन पालिका लाभान्वित

blog

गोरखाको आरुघाट गाउँपालिकाको ९ र ८ को सिमानमा पर्ने स्तुल खोलामा निर्माण गरिएको बेलिब्रिज । तस्बिर : गुणबहादुर रोका

गुणबहादुर रोका
सुलिकोट, मङ्सिर ४ गते ।
गोरखाको आरुघाट गाउँपालिकाको ९ र ८ को सिमानमा पर्ने स्तुल खोलामा बेलिब्रिज पुल निर्माण हुँदा बन्दा गोरखाका तीन वटा पालिका लाभान्वित भएका छन् । गोरखाको आरुघाट गाउँपालिका, भीमसेनथापा गाउँपालिका र बारपाक सुलीकोट गाउँपालिका लाभान्वित भएको एघार किलो भालुस्वाँरा बारपाक सडक आयोजनाका कार्यालय प्रमुख अमिन्द्र खड्काले जानकारी दिनुभयो ।

गोरखाको आरुघाट–आरुपोखरी–ताकुकोट सडकखण्डमा पर्ने स्तुल खोलामा तीन करोड ८० लाख रुपियाँको लागतमा बेलिब्रिज निर्माण सम्पन्न भएको हो । उक्त सडकअन्तर्गत आरुघाट गाउँपालिकाको ७, ८ र ९, भीमसेनथापा गाउँपालिकाको २, ३ र बारपाक सुलीकोट गाउँपालिकाका ७ र ८ नम्बर  वडाका बासिन्दालाई सवारी साधान आवतजातमा अत्यधिक कठिनाइ हुने गरेको आरुघाट गाउँपालिकाका अध्यक्ष राजु गुरुङले बताउनुभयो ।

एघारकिलो भालुस्वारा बारपाक सडक आयोजनाले २०७९ साल फागुन २५ गते जलप होम जेबीसँग २०८० फागुन २५ गते सम्पन्न हुने गरी ठेक्का  सम्झौता गरेको थियो । पुल निर्माणको काम एक वर्षमाभित्रमा सम्पन्न गरिसक्नुपर्ने सम्झौता गरिए पनि ठेकदार कम्पनीले निर्धारित समयअघि नै काम सम्पन्न गरेको एघार किलो भालुस्वाँरा आयोजना गोरखाले जनाएको छ ।

बेलिब्रिज निर्माण सम्पन्न भएसँगै आरुघाट बजार हुँदै सवारी साधन ओहोरदोहोरका लागि बारपाक सुलीकोट र भीमसेन थापा गाउँपालिकाका स्थानीय बासिन्दालाई अहिले सजिलो भएको छ । आरुघाट गाउँपालिकाका–९ का अध्यक्ष बुद्धिप्रसाद श्रेष्ठले बेलिब्रिज बन्दा घण्टौंसम्म पैदलयात्रा गर्नुपर्ने बाध्यता हटेको उहाँले बताउनुभयो ।

विशेष गरी बर्खाको समयमा सवारी साधन ओहोरदोहोर हुन नपाउँदा बिरामीलाई बोकेर लानुपर्ने अवस्था रहेको वडाध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । प्रत्यक्ष रुपमा आरुघाट गाउँपालिका र अप्रत्यक्ष रुपमा बारपाक सुलीकोट र भीमसेनथापा गाउँपालिका नागरिकलाई फाइदा भएको आरुघाट गाउँपालिका– ८ का स्थनीय कृष्णकुमार श्रेष्ठले जानकारी दिनुभयो ।