• २० वैशाख २०८१, बिहिबार

एमाले श्रमदान अभियान : अस्थायी टहरा निर्माण प्राथमिकतामा

blog

जनश्रम दानमा खटिएका एमालेका कार्यकर्ताहरु । तस्विर : जिफन्ट

काठमाडौं, मंसिर ३ गते । जाजरकोट र रुकुमपश्चिम लगायत भूकम्प प्रभावित क्षेत्रमा नेकपा (एमाले) को श्रमदान अभियान जारी छ । एमालेको ११ सय स्वयंसेवक भूकम्प प्रभावित क्षेत्रमा पुनर्निर्माणको कार्यमा व्यस्त छन् । 

एमाले केन्द्रीय कार्यालयका विपद् व्यवस्थापन तथा स्वयंसेवक विभागका प्रमुख किरण पौडेलले अस्थायी टहरा निर्माणलाई मुख्य प्राथमिकतामा राखिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हाम्रो मुख्य काम भत्केका घरहरू, भगनावशेषहरु, पुरेका सामानहरू, सडेगलेका चौपाया पन्छाउने र त्यस ठाउँमा अस्थायी संरचना बनाएर तत्कालीन अवस्थाका निम्ति बस्न मिल्ने, योग्य बनाइदिने काम हो ।” एघार सय स्वयंसेवकलाई ४० समूहमा विभाजन गरेर ४० स्थानमा छरिएर काम भइरहेको उहाँले बताउनुभयो ।


११ सयमध्ये एक सय स्वयंसेवक भने सामान ओसारपसार, सूचना आदानप्रदान लगायतका काममा खटिरहेको उहाँको भनाइ छ । भूकम्प प्रभावित क्षेत्रमा तत्काल जाडोयाममा रातिको समयमा वासस्थानको अभाव रहेकाले महिला, वृद्ववृद्वा विशेषगरी गर्भवती, सुत्केरी महिला, शिशुका लागि पोषणयुक्त खानेकुरा र सुरक्षित न्यायो वासस्थानको जरुरी रहेको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, “यसको निम्ति राज्य पनि लागिरहेको छ । सरकारी र गैरसरकारी संस्थाहरूले पनि सहयोग उठाइरहेका छन् । हाम्रो पार्टीले पनि राहत सामग्री पठाइरहेको छ । महत्त्वपूर्ण कार्य खुला आकाशमुनि बस्नुपर्ने बाध्यता छ । त्रिपालमुनि बिना दिवार बस्नुपर्ने बाध्यता भएकाले अस्थायी टहरा निर्माण गर्ने उद्देश्य छ ।”

एमालेले एक करोड रुपियाँ बराबरको राहत सामग्री तथा श्रमदान गर्ने जिज्ञासामा उहाँले भन्नुभयो, “स्वयंसेवक त्यहाँ पुग्दा सबै बेहोर्नुपर्ने अवस्था छ । स्थानीय सरकार, प्रदेश सरकारबाट केही सहायता नलिई ओढ्ने, ओछ्याउने, दाल, चामल, अन्नपानी हामी आफैँ व्यवस्था गर्छौँ । स्वयंसेवक दैनिक १८ घण्टासम्म श्रमदान गर्नुहुन्छ ।” टेन्ट तथा क्याम्प खडा गरेर सो काम भइरहेको उहाँको भनाइ छ । 


एमाले कर्णाली प्रदेश कमिटी अध्यक्ष गुलाबजंग शाहले कात्तिक १७ गते भूकम्प गएपछि १८ गतेदेखि नै आफूहरू उद्धार कार्यमा रहेको बताउनुभयो । शाहले भन्नुभयो, “कात्तिक १७ गते भूकम्प गएपछि १८ गतेदेखि नै घाइतेको उद्धार लगायतका काममा लाग्यौँ । सबै घरहरू क्षतिग्रस्त भएका छन् । कोही भत्किए, चर्केको घरमा बस्न सक्ने स्थिति छैन । स्थिति भयावह छ ।”

भूकम्प प्रभावित क्षेत्रमा चिसोकै कारण समेत कतिपयले ज्यान गुमाइसकेका छन् । यो अवस्थामा सो क्षेत्रमा पुगेको राहत वितरण हुन नसकेको उहाँको गुनासो छ । उहाँले भन्नुभयो, “राहत वितरण एकद्वार प्रणाली भने पनि ज्यादती, धाँधली, बदमासी पनि भइरहेको छ । पाउनु पर्नेले राहत नपाएको अवस्था छ । राहत ल्याएर थुपारेको अवस्था पनि छ ।”


उहाँले जाजरकोटलगायतका क्षेत्रमा पछिल्लो समय प्राविधिक टोलीसहित आपत् परेकालाई तत्काल सेवा उपलब्ध गराउने गरी कार्य अघि बढिरहेको बताउनुभयो । एमालेको श्रमदान अभियान मङ्सिर १७ गतेसम्म चल्ने उहाँले बताउनुभयो ।  

Author
सपना थामी

उहाँ राजनीति र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।