• ४ जेठ २०८१, शुक्रबार

स्वाँतखोलामा झोलुङ्गे पुल बनेपछि स्थानीय खुसी

blog

निरवाङ र किन्दु गाउँ जोड्न स्वाँत खोलामा निर्माण गरिएको झोलुङ्गे पुल । तस्बिर : ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य

म्याग्दी, मङ्सिर ३ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-५ शिखको स्वाँतखोलामा झोलुङ्गे पुल निर्माण भएपछि स्थानीयवासी खुसी भएका छन् । पुल निर्माणसँगै एक घण्टाको पैदलयात्रा २० मिनेटमा छोटिएको छ । 

निरवाङ र किन्दु गाउँ जोड्न सङ्घीय सरकारको ‘सस्पेन्सन ब्रिज’ डिभिजनले ३४४.८ मिटर लामो र १४० मिटरभन्दा अग्लो झोलुङ्गे पुल ठेक्कामार्फत करिब डेढ करोडको लागतमा निर्माण गरेको हो । पुल निर्माण भएसँगै विद्यार्थीहरू घरबाट हिँडेको २० मिनेटमै विद्यालय पुग्छन् भने स्थानीयहरूलाई आवतजावत गर्न निकै सहज भएको अन्नपूर्ण गाउँपालिका ५ शिखका वडाध्यक्ष राजेश तिलिजाले बताउनुभयो । 

उहाँले भन्नुभयो, “एक घण्टाको यात्रा अवधि २० मिनेटमा छोटिएको छ । जङ्गल, भिर र खोल्साको घुमाउरो बाटो यात्रा गर्नुपर्ने बाध्यता हटेपछि स्थानीयहरू खुसी भएका छन् ।’’ किन्दु, धोस्केखोरका बासिन्दालाई माध्यमिक विद्यालय र वडा कार्यालय रहेको शिख पुग्न स्वाँत खोलाको घुमाउरो बाटो प्रयोग गर्दा करिब एकघण्टा पैदल यात्रा गर्नुपर्ने बाध्यता थियो ।  

पुलबाट शिख, किन्दु, धोस्केखोरीया, घिरवाङ र पाउद्वारका पाँच सयभन्दा बढी घरधुरी लाभान्वित भएका वडाध्यक्ष तिलिजाले बताउनुभयो । पुल बनेपछि ज्येष्ठ नागरिक र बालबालिकाहरूलाई सहज भएको निरवाङका ८० वर्षीय कुलबहादुर पुर्जाले बताउनुभयो । पुल बनेपछि गाउँमा दैनिक उपभोग्य वस्तुहरू ल्याउन सहज भएको उहाँले बताउनुभयो। उहाँका अनुसार गाडीले निरवाङको छेउमा ल्याउने सामान किन्दुका बासिन्दाले बोकेर गाउँमा लैजान्छन् । गाउँमा लामो पुल बनेपछि हेर्न वरपरका गाउँबाट दैनिकजसो मानिसहरू आइरहेको उहाँको भनाइ छ । 

शिखदेखि ढाडखर्क, खोप्रा जाने र आउने पर्यटकहरूलाई पनि आवतजावत गर्न सहज भएको छ । किन्दु, धोस्केखोरका बासिन्दाहरूले उत्पादन गरेको आलु, सिमी बजार पठाउन पुलले सजिलो बनाएको छ । यो अन्नपूर्ण गाउँपालिकाको सबैभन्दा लामो पुल भएको वडा अध्यक्ष तिलिजाले बताउनुभयो ।