• ११ मंसिर २०८१, मङ्गलबार

नेपालका बारे धेरै कुरा लेख्नेछु : बलिउड गीतकार समीर अञ्जान

blog

बलिउडका गीतकार समीर अञ्जानलाई काठमाडौंमा अभिनन्दन गरिँदै ।

काठमाडौं, मङ्सिर ३ गते । बलिउडका गीतकार समीर अञ्जानलाई काठमाडौंमा अभिनन्दन गरिएको छ । काठमाडौंको लुनकरणदास गङ्गादेवी चौधरी साहित्यकला मन्दिर र गीतकार सङ्घ नेपालले उहाँलाई एक कार्यक्रमको आयोजना गरी अभिनन्दन गरेको हो ।

समीर विश्वमै सबैभन्दा बढी गीत लेख्ने गीतकार हुनुहुन्छ । विश्वमा सबैभन्दा बढी गीत लेखेबापत ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’ मा नाम लेखाउनुभएका समीरले ६५० भन्दा बढी चलचित्रका लागि चार हजारभन्दा बढी गीत लेख्नुभएको छ ।

कार्यक्रममा बोल्नुहुँदै समीरले नेपाली भाषा धेरै प्रिय रहेको बताउनुभयो । उहाँले नेपाली भाषा युद्धमा बोल्दा पनि माया गरेको जस्तो लाग्ने किसिमको मिठासपूर्ण रहेको जानकारी दिनुभयो । उहाँले आफू नेपालमा पहिलो पटक आएको र नेपालका बारेमा धेरै कुरा लेख्ने प्रतिबद्धता जनाउनुभयो ।

कार्यक्रममा बोल्नुहुँदै साहित्यकार वसन्त चौधरीले समीर अञ्जान कसैका लागि पनि अञ्जान नाम नभएको बताउनुभयो । उहाँले मानिसहरु उहाँका गाना सुनेर र गुनगुनाएर उहाँप्रति माया प्रकट गर्ने बताउनुभयो । उहाँले अञ्जानले भारतीय गीतहरु उल्लेख्य रुपमा रचना गरेको स्मरण गर्नुभयो । उहाँले गीतले हरेक मानिसलाई जिउन सिकाउने बताउनु भयो ।

गीतकार समीरका ‘परदेशी परदेशी’, ‘तुम पास आए’, ‘मेरा दिल भी कितना पागल हे’, ‘कभी खुसी कभी गम’, ‘मुझे निन्द ना आए’, ‘तुम दिलकी धडकन मे’ लगायतका गीत लोकप्रिय  छन् ।