• ११ मंसिर २०८१, मङ्गलबार

छठपर्वको मौलिकता

blog

अहिंसा, पवित्रता र आस्थाको पर्व छठ नेपालको मौलिक पर्व हो । नेपालमा उद्भव भएर विश्वका विभिन्न देशका हिन्दु समुदायका साथै अन्य धर्मावलम्बीले समेत मनाउन थालेको छठको कुनै शास्त्रीय आधार देखिँदैन । कुनै पनि शास्त्र वा ग्रन्थले छठपर्व र छठीमाईबारे स्पष्ट रूपमा चर्चा गरेको पाइँदैन । यद्यपि महाभारतकालमा गुप्तवास सफल पार्ने कामनासहित पहिलो पटक द्रौपदीले छठको कठोर व्रत गरेको र अज्ञातवास सफल भएको भन्ने कथन पाइन्छ । द्रौपदीले पहिलोचोटि छठ व्रत गरेको स्थान नेपालकै मधेश प्रदेशको रौतहटमा अवस्थित गढीमाई नगरपालिकाको समनपुर हो भन्ने मान्यता छ । वनवासको समयमा लामो समय महाभारत पर्वत श्रेणी तथा हेटौँडा (हेटौँडा नामकरण भीमसेनकी पत्नी हिडिम्बिका/हिडम्बाबाट भएको हो र यही हिडिम्बिकालाई भुटनदेवी नामले हेटौँडामा पूजा हुन्छ) लगायतको क्षेत्रमा बिताएका पाण्डव परिवारले एक वर्षको गुप्तवासको सुरुवात पनि समनपुरबाटै गरेको किंवदन्ती छ ।

यस ऐतिहासिक समनपुर बजारमा एउटा मन्दिर छ । जसको सम्बन्ध महाभारतसित छ । बागमती नदीको किनारमा द्रौपदीले कठोर छठ व्रत गर्दै गर्दा पाण्डवहरूले एउटा सुरुङ निर्माण गरेका थिए । उपयुक्त अवसर देखेर द्रौपदीसहित पाण्डव सोही सुरुङभित्र पसे । सबैभन्दा अन्तिममा सुरुङमा पस्दै भीमसेनले एउटा ठुलो ढुङ्गाले सुरुङको मुख बन्द गरे । सोही ढुङ्गालाई स्थानीयले भीमेश्वर महादेवका रूपमा युगौँदेखि पूजा गर्दै आएका छन् ।

द्रौपदीलाई स्थानीय कुनै बुढीआमाले व्रतको कठोरता र फलबारे बताएकी थिइन् । भनिन्छ, ती बुढीआमा कोही लौकिक पुरुष नभएर तिनै लोकदेवी छठीमाई थिइन् । द्रौपदीले छठ व्रत गरेपछि बिस्तारै स्थानीयले पनि भाकल गरेर पूरा भएपछि गर्न थाले । समनपुर उत्तरमा कान्तिपुर र दक्षिणमा पाटलीपुत्र (पटना) को झन्डै बिचमा पर्ने व्यापारिक मार्ग थियो । यहीँबाट पटनासम्म र पटनाबाट गङ्गा किनार हुँदै मुख्य गरी पश्चिमतर्फ छठको विस्तार हुँदै जाँदा कालान्तरमा यस पर्वले विश्वरूप पाएको हो । द्रौपदीले अज्ञातवासको सफलताका लागि छठ गरेको र अज्ञातवास प्रारम्भ भएको ठाउँ रौतहटको समनपुरमा रहेकाले छठको सुरुआत रौतहटको समनपुरबाटै भएको हो भन्न सकिन्छ ।

सूर्य पूजा मात्र होइन

विभिन्न वेद तथा पुराणमा सूर्य पूजाका बारेमा चर्चा रहेको पाइन्छ । सूर्य पुराणमा सूर्य पूजाको विषयमा विस्तृत उल्लेख गरिएको छ । सूर्यलाई अघ्र्य दिने वा जलार्पण गर्ने तथा देउता मानेर पूजा गर्ने संस्कृति पुरानै हो । विभिन्न मन्त्रमा पनि सूर्यलाई पूजा गरिने गरिएको पाइन्छ । सूर्यलाई अन्य धर्मावलम्बीहरूले पनि विभिन्न नाम र रूपमा पूजा गर्ने गरेको पाइन्छ । यस अर्थमा सूर्य पूजालाई छठ पर्व मान्न सकिँदैन । छठ पर्वमा सूर्यलाई मात्र पूजा गरिँदैन । सूर्यलाई साक्षी मानिन्छ र अघ्र्य चढाइन्छ । वास्तवमा छठमा गरिने सूर्यको पूजा साक्षीका लागि मात्र भएको बताइन्छ । रामायणका नायक रामलाई सूर्यवंशी मानिएको छ । लङ्काबाट फर्केपछि रामले पनि सूर्य पूजा गरेका थिए । महाभारतका पात्र कर्णले पनि घन्टौँ सूर्य पूजा गर्दथे तर दुवै प्रसङ्गलाई छठ पूजा भनिएको पाइन्न ।

सङ्कल्प गोवर्धन पूजाबाट

छठपर्वको शुभारम्भ कार्तिक शुक्ल द्वितीयाको दिनदेखि नै हुन्छ । यस दिन बिहान सामान्यतया सूर्योदयपूर्व (तर आइतबार, मङ्गलबार र बिहीबार परेमा कतै कतै सूर्याेदयपछि) गोवर्धन पूजा गरिन्छ । हरेक व्रतालुले अनिवार्य रूपमा गोवर्धन पूजामा सहभागी हुनै पर्छ । गाई र गोरुको गोठमा रातिको गोबरलाई पहाड तथा गोवर्धन भगवान्को प्रतिकृति बनाइन्छ । घरमा गाई वा गोरु हुने व्रतालुले आफ्नै गोठबाट गोवर्धन भगवान्को प्रतिकृति बनाएर गाउँको कुनै चौबाटोमा भेला भएर सामूहिक गोवर्धन पूजा गरिन्छ; जसलाई गोधन कुटाइ भनिन्छ । गोधन कुटाइका लागि गोबरमा केराउ (बजडी), सिन्दुर, गाजल, कपास, मिठाई आदि प्रयोग गरिन्छ । त्यहाँ एउटा माटोको हाँडीलाई चारैतिरबाट टीका लगाएर हाँडीभित्र माटोको दियो बालेर गोबरले बनाएको गोवर्धन पहाडमाथि राखिन्छ । चारैतिरबाट व्रतालुले उभिएर पहिला छठपर्वको गीत गाउँछन् र हलोको जुवाले हाँडीलाई फुटाउँछन् । हाँडी फुटाउने जुवालाई छठपर्व गर्ने महिलाले मात्र समाउन पाउँछन् । यो नै छठपर्वको सङ्कल्प हो । टोलमा को को व्रत गर्दै छन् भन्ने यहीबाट थाहा हुन्छ । जुवाको अनेक प्रहारले हाँडी फुटेपछि उपस्थित सबै महिलाका दाजु र भाइको नाम लिई एकै स्वरमा गीत गाउँछन् । गीतमा दिदीबहिनीले दाजुभाइको लामो आयुको कामना र प्रार्थना गर्दछन् । छठको सङ्कल्प गरेपछि व्रतालुहरू छठपर्वमा पकाइने सामग्रीका लागि चुलोको निर्माण सुरु गर्छन् र ठेकुआ तथा कसारका लागि धान र गहुँ घाममा सुकाउन थाल्छन् । सङ्कल्पपछि छठको औपचारिक तयारी सुरु हुन्छ ।

खरना : मुख्य पर्व

कात्तिक शुक्ल चतुर्थीको दिन नुहाएर खाने गरिन्छ; जसलाई नहाखाएके भनिन्छ । त्यसको भोलिपल्ट पञ्चमीको दिन खरना हो । खरनामा व्रतालु चाहिँ दिनभर भोकै बस्छन् । द्वितीयाको दिन बनाएको चुलोमा नै खरनाको सामग्री पकाउन आगो बालिन्छ । पञ्चमीको साँझ खिर, चामलको रोटी र मुला छठीमाईलाई आफ्नै घरमा चढाइन्छ । घर वा आँगनको कुनै पनि ठाउँमा लिपपोत गरी पवित्र पारी केराको पातमा खिर, रोटी र मुला चढाइन्छ । कुनै पनि मूर्ति वा फोटोको प्रयोग हुँदैन । नजिकै एकाछेउमा आँपको लकडी वा गुइँठाको आगोमा धूप हालिन्छ । कसले कुन भाकल गरेको हो वा किन पर्व गरेको हो भन्ने कुरो यहाँ देउतासमक्ष भनिन्छ । आरोग्यको कामना र प्रार्थना गरिन्छ । व्रतालुले समेत खान्छन् । यसलाई समग्रमा खरना भनिन्छ ।

खरना सकिएपछि यसको प्रसाद बाँड्ने चलन छ । जसको घरमा छठ हुँदैन, उनका घरमा आफन्तले खिर, रोटी र मुला पु¥याउँछन् । छठको मूल पूजा खरना नै हो किनभने छठ पर्व गर्नैपर्ने बाध्यतामा रहेको तर व्रतालु अशक्त वा बिरामी भएको अवस्थामा दिनभर भोकै बसेर साँझमा खरना गरी नेओज काढेको ठाउँमा आफ्नो विवशता छठीमाईलाई सुनाएपछि छठ व्रत गरेको मानिन्छ । खरना नगर्नेलाई छठ गरेको नमानिने तर कुनै बाध्यताका कारण षष्ठीको दिनको व्रत बस्न नसकी खरना मात्र गर्नेलाई छठ गरेको मानिन्छ । यसर्थ छठको मुख्य पर्व चाहिँ खरना नै हो ।

छठघाटको पूजन सामग्री

छठघाटमा लैजानका लागि ठेकुआ, कसार, केरा, अदुवा, केराउ, उखु, निबुआ, अक्षता र तुलसीको पात अनिवार्य चाहिने मूल सामग्री हुन् । उपलब्धता र आवश्यकता अनुसार ल्वाङ, सुकुमेल, नरिवल, स्याउ, सुन्तला बिस्तारै थपिँदै गएका हुन् । ठाउँ र उपलब्धता अनुसार यसका अन्य सामग्रीहरू थपिँदै गएका छन् । पहिले अघ्र्य बाँसको सुपलीमा दिइन्थ्यो ।

घाटका देवता

छठघाट; जहाँ सबै व्रतालु पूजा सामग्री अगाडि राखेर बसेका हुन्छन्, त्यहाँ एउटा वेदी बनाइएको हुन्छ । त्यसलाई श्रीसप्ता भनिन्छ । व्रतालुको उपस्थिति र घाटमा उपलब्ध ठाउँ अनुसार एक वा अनेक श्रीसप्ताको बनाइएको हुन्छ । व्रतालुहरू श्रीसप्ताको वरिपरि बस्छन्, पूजा गर्दछन्, गीत गाउँछन् । रात पर्न थालेपछि कतिपय ठाउँका व्रतालु घर फर्किन्छन् । कतिपय ठाउँमा घाटमै रातभरि बसेर पूजा गर्दछन् ।

कोसिया पूजा

घर फर्केका वा घाटमा बसेका व्रतालु सबैले राति अनिवार्य कोसिया पूजा गर्दछन् । यो पनि विशेष प्रकारको विशिष्ट पूजा हो जुन छठीमाईलाई गरिन्छ । जसलाई केही भाकल गरिएको हुन्छ, उसको हातखुट्टा एउटा धागोले बाँध्छन् । धागोले बाँध्ने अधिकार बहिनीलाई छ । बहिनी नभए दिदी, फुपू वा भान्जीले बाँध्छन् । एक दुइटा गीतपछि बाँध्नेले केही दानदक्षिणा लिएर खोल्छन् । यो निकै महìवपूर्ण संस्कृति हो । कोसिया हुने चाहिँ राति नै फेरि छठघाट पुग्नु पर्छ । कोसियामा प्रयोग भएको माटोको हात्ती वा दियोयुक्त घैलालाई घाटनजिकको जलाशयमा राखिन्छ । घाटमा बस्नेहरूको रात त्यहीँ बित्दछ तर घर फर्किनेहरू बिहान झिसमिसे अँध्यारोमै फेरि घाटमा पुग्छन् सबै सामानहरू लिएर । श्रीसप्ताको वरिपरि हिजोकै ठाउँमा जस्ताको तस्तै बसेर उही विधिले पूजा गर्दछन् । जलाशयबाट सूर्य देखिन सक्ने गरी सूर्यको प्रकाश आएपछि फेरि जलाशयमा पुगेर सूर्यलाई अघ्र्य दिइन्छ । सूर्यलाई अघ्र्य दिएपछि छठपर्व समापन हुन्छ ।

  

Author

सञ्जय साह मित्र