• ११ मंसिर २०८१, मङ्गलबार

सञ्चारमन्त्री शर्माद्वारा छठको शुभकामना

blog

काठमाडौँ, मङ्सिर ३ गते । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माद्वारा छठ पर्वको शुभकामना दिनु भएको छ । उहाँले नेपालको तराई–मदेसमा उदाउँदो सूर्यको आराधना गर्दै उल्लासमय रूपमा मनाइने छठ पर्वका अवसरमा तराई बासी जनसमुदायका साथै स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ । 



शुभकामना

सूर्यको आराधना, उपासना र पूजा गरी परिवार कल्याणको कामनासहित उल्लासपूर्वक मनाइने छठ पर्वका अवसरमा तराई बासीलगायत सबै बुवा आमा, दिदीबहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।

नेपालको तराई मधेस क्षेत्रमा निकै महत्वका साथ मनाइने यो पर्व अन्य क्षेत्रमा पनि विस्तार हुन थालेको छ । हरेक क्षेत्र र समुदायले आफ्नो आस्थाअनुसारका चाडपर्व मनाउनु र सबैले सबै समुदायका चाडपर्वको सम्मान गर्नु नेपालीहरूको सांस्कृतिक विशेषता हो । नेपालका हरेक चाडपर्वले परिवार, समुदाय र देशवासीलाई भावानात्मक रुपमा एकताबद्ध गर्ने गरेका छन् । त्यसैले त सांस्कृतिक विविधतासहितको राष्ट्रिय एकता हाम्रो साझा पहिचान बन्ने गरेको छ । यसको संरक्षण र विकास गर्नु पनि हाम्रो साझा दायित्व हो ।

नेपालमा सबै चाडपर्वहरू सौदार्हता र एकताको प्रतीकको रूपमा मनाउने गरिन्छ । हरेक मौलिक चाडपर्वका ऐतिहासिक र सांस्कृतिक सम्बन्धहरू मानव समाजको विकाससँग जोडिएका छन् ।  हाम्रा पुर्खाहरूले सामाजिक सम्बन्ध र संरचनाको विकास गर्ने क्रममा सुरु गरेका यी चाडपर्वहरू आज पनि जीवन्त सांस्कृतिक सम्पदाको रूपमा पृथक् पहिचानका साथ स्थापित छन् । अहिले हामी राजनीतिक रुपमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा छौँ । सबै जाति, क्षेत्र, धर्म, समुदाय, भाषा, संस्कृतिको संरक्षणका लागि नै लामो राजनीतिक सङ्घर्षपछि यो व्यवस्था स्थापना गरिएको हो । नेपालको संविधानले धार्मिक सांस्कृतिक स्वतन्त्रता सुनिश्चित गर्दै सनातनदेखि मानिआएका धर्म संस्कृतिको संरक्षणलाई राज्यको दायित्वको रूपमा स्थापित गरेको छ । संविधानले दिएको धार्मिक सांस्कृतिक स्वतन्त्रताको उपयोग र यसको संरक्षण तथा विकास आजको हाम्रो साझा दायित्व हो । 

अन्त्यमा, हरेक जनसमुदायले आफ्नो आस्थाअनुसारको धर्म संस्कृतिको संरक्षण र अभ्यास गर्दै सबैले सबैको धर्म संस्कृतिको सम्मान गर्दै सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम गर्न सबैमा यो छठ पर्वले प्रेरणा प्रदान गरोस्, हार्दिक शुभकामना ।  

३ मङ्सिर, २०८०

रेखा शर्मा

मन्त्री

सञ्चार तथा सूचना प्रविधि मन्त्रालय