जनार्जन खत्री
सर्लाही, मङ्सिर २ गते। सर्लाहीमा छठ पूजाका लागि २७४ स्थानमा छठघाट निर्माण गरिएको छ। जिल्ला प्रहरी कार्यालयले सङ्कलन गरेको विवरण अनुसार २० वटा पालिकाका २७४ स्थानमा छठको पूजा स्थल तयार पारिएको हो। सर्लाहीका प्रहरी उपरीक्षक प्रवीण धितालले एउटै गाउँमा चार/पाँच वटासम्म छठघाट निर्माण भएको बताउनुभयो।
उहाँले प्रत्येक छठघाटमा आवश्यक सुरक्षा प्रबन्ध मिलाइएको बताउनुभयो। छठ पर्वको मुख्य दिन आइतबार अस्ताउँदो सूर्यलाई पूजा आराधनासहित अर्घ्य दिइँदै छ।
निराहार व्रत बसेका बर्तालुले आइतबार नै रातभर छठ पूजास्थलमा जाग्राम बसेर सोमबार उदाउँदो सूर्यको प्रतीक्षा गर्ने गर्छन्। व्रतालु तथा परिवारका सदस्य छठ पूजाको तयारीमा जुटेका छन्।
सर्लाहीमा अहिले प्रत्येक बस्तीमा छठ पर्वको रौनक छाएको छ। यहाँको बागमती, लखन्देही, कालिन्जोर, झिम, बाँके, एकादशी, मनुष्मारालगायतका खोला तथा नहर र पोखरीमा छठघाट निर्माण गरिएको छ।
छठपूजा गर्न कतिपय स्थानमा कृत्रिम पोखरी निर्माण गरिएको छ। हरिवन नगरपालिका–२ का जगदेव महतोले आफूको गाउँमा शनिबार जनश्रमदान गरी पोखरी खनेर छठघाट निर्माण गरिएको जानकारी दिनुभयो।
व्रतालुले छठ पूजाका लागि माटाका भाँडा, बाँसबाट बनेका ढाकीलगायतका सामग्री, नरिवल, उखु, केरा, सुन्तलाको जोहो गरिरहेका छन्। लालबन्दी, हरिवन, बरहथवा, बयलवास, मलङ्गवा, हरिपुर, नवलपुर, गोडैतालगायतका बजारमा यी सामग्रीको राम्रो व्यापार भइरहेको छ।