नवीन सुवेदी
सुर्खेत मङ्सिर २ गते । कर्णाली प्रदेश सरकारको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले भूकम्पबाट प्रभावित गाउँ बस्तीमा अस्थायी टहरा निर्माण गर्ने भएको छ । गत शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले मन्त्रालयलाई अस्थायी आवासको व्यवस्थाका लागि आवश्यक काम गर्न जिम्मेवारी प्रदान गरेपछि मन्त्रालयले अब भूकम्पपीडित नागरिकहरूका अस्थायी टहरा निर्माण गर्ने निर्णयमा पुगेको हो । यसका लागि मन्त्रालयले अस्थायी टहरा निर्माणमा सहयोग गर्न चाहने इच्छुक दातृ निकाय, साझेदार सङ्घसंस्थालाई जस्तापाता एवम् त्रिपाल सहयोग गर्न आह्वान गरेको छ ।
गत कात्तिक १७ गते जाजरकोटको वारेकोट केन्द्रबिन्दु बनाएर गएको भूकम्पका कारण कर्णाली ६५ हजारभन्दा बढी घरहरू क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । उक्त प्रारम्भिक अनुमानका आधारमा कर्णालीमा ती घरहरूमा बस्दै आइरहेका हजारौँ नागरिकलाई अस्थायी टहरामा बस्ने वातावरण बनाउन टहरा निर्माण गर्नुपर्ने भन्दै त्यसकालागि ठुलो मात्रामा बजेट आवश्यक पर्ने मन्त्रालयको निष्कर्ष छ । मन्त्रालय स्रोतका अनुसार त्रिपाल र जस्तापातासहित कम्तीमा पनि साढे तीन अर्ब खर्च हुने प्रारम्भिक अनुमान गरिएको छ ।
गत शुक्रबार भौतिक पूर्वाधार मन्त्री मङ्गल शाहीको अध्यक्षतामा सहयोगी संस्थाहरूसहित बसेको बैठकले उक्त निर्णय गरेको हो । ‘‘विपद्को समयमा विभिन्न सरकारी एवम् गैरसरकारी सङ्घसंस्थाले ठुलो सहयोग गर्नु भएको छ । उक्त सहयोगका लागि सबैलाई हार्दिक धन्यवाद दिन चाहन्छौँ ।,” मन्त्री शाहीले भन्नुभयो, ‘‘अब राहत र उद्धारको कार्य सकिएको छ । विस्थापित भएका हजारौँ नागरिकलाई तत्काल अस्थायी टहरामुनि ल्याउने गरी सरकार अघि बढिरहेको छ । यसका लागि जसले जति सकिन्छ, त्यति सहयोग गर्न म आह्वान गर्दछु ।’’
मन्त्री शाहीले नागरिकलाई तत्काल पालमुनि ल्याउन प्रदेश सरकारले आवश्यक बजेटको व्यवस्थापन गरेर तिहार लगत्तै काम सुरु गर्नेसमेत बताउनुभयो ।
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको प्रारम्भिक प्रतिवेदन अनुसार जारकोटको छेडागाड नगरपालिकामा १९४५ घरधुरी पूर्ण क्षति भएका छन् भने ४५४५ घर आंशिक क्षति भएका छन् । कुल ६ हजार ४९० घरधुरी विस्थापित भएका छन् । जाजरकोटकै भेरी नगरपालिकामा २५३० घर पूर्णरुपमा क्षति भएका छन् भने ४२३८ घर आंशिक रूपमा क्षति भएका छन् । ६ हजार ७६८ घरका नागरिकहरू भूकम्पका कारण विस्थापित भएका छन् ।
बारेकोट गाउँपालिका केन्द्रबिन्दु बनाएर आएको भूकम्पले बारेकोटमा १०३५ घर पूर्णरुपमा क्षति गराएको छ भने २२८६ घर आंशिक क्षति बनाएको छ । रिर्पोट अनुसार ३३२१ घरमा बस्दै आइरहेका नागरिकहरू विस्थापित भएका छन् । कुशे गाउँपालिकामा १५०४ घर पूर्णरुपमा क्षति हुँदा ३०९८ घर आंशिक क्षति भएका छन् । यहाँका ४६०२ घरका नागरिकहरू विस्थापित भएका छन् । जुनिचाँदे गाउँपालिकामा तीन हजार ९७८ घरमा बस्दै आइरहेका नागरिकहरू विस्थापित भएका छन् । यो पालिकामा ६३४ घर पूर्ण क्षति भएका छन् भने ३३४४ घर आंशिक रूपमा क्षति भएका छन् ।
रुकुम पश्चिमको चौरजहारी नगरपालिकाका १५५२ घर भूकम्पका कारण पूर्णरुपमा क्षति भएका छन् भने ४५७४ घर आंशिक रूपमा क्षति भएका छन् । कुल ६१२६ घरहरूमा बस्दै आइरहेका नागरिकहरू अहिले विस्थापित भएका छन् । सानीभेरी गाउँपालिकामा ३७४१ घरधुरी प्रभावित भएका छन् । जसमध्ये १२४६ घरधुरीमा बस्दै आइरहेका नागरिक पूर्णरुपमा विस्थापित भएका छन् । यस्तै त्रिवेणी गाउँपालिकामा १९३५ घरधुरी विस्थापित भएका छन् । यहाँ १९३५ घरधुरी पूर्णरुपमा क्षति भएका छन् भने १२५८ घरहरू आंशिक क्षति भएका छन् ।