काठमाडौं, मङ्सिर २ गते । काठमाडौँ महानगपालिका र नेपाल मधुमेही समाजको संयुक्त आयोजनामा एकदिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ । शनिबार पण्डित निष्ठानन्दको सालिक परिसर नःबहिल, ओमबहालमा एक दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको हो ।
विश्व मधुमेह दिवस, २०२३ को अवसरमा आयोजित निःशुल्क शिविरको अवलोकनका लागि काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलको उपस्थिति रहेको थियो । शिविरको अवलोकनपछि सञ्चारकर्मीहरूसँग कुरा गर्नुहुँदै उपप्रमुख डंगोलले नेपाली समाजमा हरेक घरमा एकजना मधुमेहका बिरामी रहेको भन्दै बेलैमा स्वास्थ्य परीक्षण गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले मधुमेह लगायतका रोग जीवनशैलीसँग जोडिने रोग भएकाले सबै सचेत हुनुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘‘नेपाल मधुमेही समाजको विशेष कार्यक्रमअन्तर्गत आज हामी संस्थामा नै भिजिट गर्न आएका छौँ । काठमाडौँ महानगरपालिकाले पनि नेपाल मधुमेह समाजसँग सहकार्य गरी थुप्रै कार्यक्रम गरिरहेका छौँ । अहिले नेपाली समाजमा हरेक घरमा एकजना मधुमेहका बिरामी देख्न सक्छौँ । यस्ता रोग जीवनशैलीसँग जोडिएको रोग हो । यस्तोमा मान्छेलाई सचेत गराउनुपर्छ ।’’
यस वर्ष ‘जोखिम बुझौँ, सजगता अपनाऔँ’ भन्ने नारासहित विश्व मधुमेह दिवस मनाइँदैछ ।