• ४ जेठ २०८१, शुक्रबार

हाम्रो सम्पदा

थुम्सीको हनुमान मन्दिर (फोटो फिचर)

blog

नवलपुर, मङ्सिर २ गते । नवलपुर जिल्ला गैँडाकोट नगरपालिका वडा नम्बर ९ थुम्सी चक्रघाटमा अवस्थित निकै नै आकर्षक शिखर खजुराज शैलीको हनुमान मन्दिर। यो मन्दिर नारायणगढबाट पूर्व पश्चिम राजमार्ग हुँदै पश्चिम जाँदा करिब ८ किलो मिटरको दुरीमा राजमार्गको बायाँतर्फ रहेको छ। जसलाई धार्मिक वन, स्नान घाट समेत भन्ने गरिएको छ।

निकै नै कलात्मक शैलीको यो मन्दिरको गर्भगृहमा आकर्षण हनुमानको मूर्ति रहेको छ।  यस मन्दिरको निर्माणको लागि विभिन्न सङ्घ, संस्था, विभिन्न वडाका स्थानीयवासीहरू, भक्तजनहरू आदिको सहयोगमा  करिब सवा ३ करोडको लागतमा यो मन्दिरको निर्माण कार्य सम्पन्न भएको मन्दिरका पुजारी विनय अधिकारी बताउनुहुन्छ।

पुजारीका अनुसार यस मन्दिरमा विशेष गरी मङ्गलबार भक्तजनहरूको भिड हुने गर्दछ भने हनुमान जयन्तीमा यस मन्दिरमा विशेष पूजा अर्चना हुने भएकोले उक्त दिन भक्तजनहरूको यहाँ घुइँचो नै हुने गर्दछ। यस हनुमानको मूर्तिमा दैनिक नित्य पूजा बिहान र बेलुका हुने गर्दछ।

मन्दिर व्यवस्थापनको लागि टिकाराम सापकोटाको अध्यक्षतामा १३ सदस्यीय हनुमान मन्दिर समिति चक्रघाट गठन समेत गरिएको छ ।