• २७ वैशाख २०८२, शनिबार

पर्यटक भरिँदा गैँडाको शोक

blog

वसन्त पराजुली

सौराहा (चितवन), मङ्सिर २ गते । चितवनको सौराहामा पर्यटकीय गतिविधिले लय समातेकै बेला चितवन राष्ट्रिय निकुञ्जमा चोरी सिकारी पनि सक्रिय भएका छन् । जङ्गल सफारी गरेर निकुञ्ज वरपर रहेका होटल, रिसोर्ट र लजमा बसेका स्वदेशी तथा विदेशी पर्यटक दुई वटा पोथी गैँडा मारिएको खबरले स्तब्ध भए ।

मारिएका दुई पोथी गैँडाका खाग र खुर दुवै गायव छन् । मारिएकामध्ये एउटा १० दिनअघि नै र अर्को तीन दिनअघि मारेर खाग र खुर लगिएको अनुमान चितवन राष्ट्रय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले गर्नुभयो । 

“निकुञ्जको पूर्वी क्षेत्र अन्तर्गत पर्यटकीय नगरी सौराहा नजिकै पर्ने चप्परचुली पोस्टबाट करिब साढे तीन किलोमिटरको फरकमा दुई वटा गैँडा मरेको अवस्थामा भेटिए,” सूचना अधिकारी तिवारीले भन्नुभयो । उहाँले भनेको घुमाउरो बाटोको दुरी हो । सुरक्षा पोस्टबाट घटनास्थल करिब एक किलोमिटरको दुरीमा पर्ने पथप्रदर्शकहरू बताउँछन् । यस ठाउँमा सितिमिति सुरक्षा पहुँच नरहेको उनीहरूको दाबी छ ।

मारिएका दुवै पोथी गैँडा हुन् । १० दिनअघि मारिएको अनुमान गरिएको १८ वर्षको र अर्को छ वर्ष रहेको निकुञ्जले जनाएको छ । दुवै गैँडा राप्तीपारि खाल्डो खनेर धरापमा पारी मारिएका थिए । निकुञ्ज प्रशासनले भने बिहीबार साँझ मात्र यसको सूचना पाएको थियो । तस्कारले एक सय मिटरको फरकमा दुई वटा खाडल बनाएको र खाडलको माटो टाढा लगेर फालेको देखिन्छ । 

वन्यजन्तुकै कारण बढेको चितवनको पर्यटकीय गतिविधिमा फेरि यस घटनाले नराम्रो असर पार्ने सम्भावना देखिन्छ । पेसाले मेडिकल डाक्टर अस्ट्रियन नागरिक एल क्जोपाकले सङ्कटासन्न वन्यजन्तु गैँडा मारिएको सुन्दा आफू ज्यादै दुःखी भएको बताउनुभयो । 

“मलाई बाघ हेर्ने ठुलो चाहना हो । यहाँ आएपछि गैँडासमेत देख्न पाए हुन्थ्यो भन्ने लागेको थियो,” शुक्रबार निकुञ्जमा जिप सफारी गर्नुभएका चिकित्सक क्जोपाकले थप्नुभयो, “संयोगले दुवै वन्यजन्तु देख्न पाउँदा हर्षित छु । यस्ता वन्यजन्तु मारिएको सुन्दा दुःख लाग्दो रहेछ ।” उहाँले महìवपूर्ण वन्यजन्तुको सुरक्षामा विषेष ध्यान दिन पनि सुझाव दिनुभयो । वन्यजन्तु विज्ञ डा. बाबुराम लामिछानले निकुञ्जको कमजोर सुरक्षा व्यवस्थाको मौका छोपेर चोरी सिकारीले गैँडा मार्न सफल भएको बताउनुभयो । 

“चाडवाडका बेला सुरक्षा कमजोरीको फाइदा उठाउँदै पेसेबर र अनुभवी सिकारीले गैँडा मारेको अनुमान गर्न सकिन्छ,” डा. लामिछानेले भन्नुभयो । विगतमा पनि निकुञ्जभित्र गैँडा मार्नकै लागि यस्ता खाडल खन्ने गरिएको र निकुञ्जले बेलाबेलामा पुर्ने गरेको अनुभव उहाँले सुनाउनुभयो । 

नेपाल प्रकृति संरक्षण कोष सौराहाका पूर्वप्रमुखसमेत रहनुभएका डा. लामिछानेले गैँडाको संरक्षणका लागि विशेष सुरक्षा रणनीति अवलम्बन गर्न पनि आग्रह गर्नुभयो । 

चितवन राष्ट्रिय निकुञ्जका संस्थापकमध्येका एक पूर्वप्रमुख संरक्षण अधिकृत रामपृत यादवले दसैँतिहार जस्तो चाडपर्वका बेला चोरी सिकारी बढी सक्रिय हुन्छन् भन्ने कुरा निकुञ्जले नबुझ्दा गैँडा मारिएको टिप्पणी गर्नुभयो । “दसैँतिहार जस्तो चाडवाडमा सुरक्षा कमजोरी हुने र त्यही मौकामा चोरी सिकारी हुन्छ भन्ने कुरा बुझ्नुपथ्र्यो,” उहाँले भन्नुभयो । निकुञ्ज सुरक्षा गर्दै आएको नेपाली सेनाको खड्ग दलका गणपति कर्णेल विकास अधिकारी सुरक्षा गस्ती कमजोरीका कारण गैँडा मारिएको भन्ने तर्क गलत भएको दाबी गर्नुभयो । 

“हामीले गस्ती निरन्तर जारी राखेका छौँ तर हाम्रो सुरक्षा प्रणालीलाई छक्याएर तस्करहरू गैँडा मार्न सफल भए,” उहाँले भन्नुभयो । घटनाको प्रकृति हेर्दा आफूहरूलाई पेसेवर तस्करहरू नै यो घटनामा लागेका अनुमान रहेको पनि उहाँले जनाउनुभयो । उहाँले निकुञ्जमा अहिले ढड्डी बढेर झाडी भएकाले गस्ती गर्दा नजिकैका जनावर देख्नसमेत गाह्रो परेको पनि गुनासो गर्नुभयो । 

क्षेत्रीय होटल सङ्घ सौराहाका महासचिव गुणराज थपलिया गैँडा मारिनु दुःखद भएको बताउनु हुन्छ । “गैँडा हेर्नकै लागि देश विदेशबाटै पर्यटक चितवन आउँछन् । पर्यटक आउने सिजनमै गैँडा मारिनुले यसको संरक्षणमा गलत सन्देश दियो,” उहाँले बताउनुभयो । 

अहिले चितवनमा दैनिक स्वदेशी तथा विदेशी गरी १० हजार पर्यटक रमाइरहेका बेला आएको शोक सन्देशले उत्साह जाग्दै गरेको पर्यटन क्षेत्रमा फेरि धक्का लाग्ने सम्भावना रहेको उहाँले बताउनुभयो । 

“भरतपुरमा पर्यटन वर्ष मनाउने तयारी भइरहेका बेला आएको शोक सन्देशले अब भ्रमण वर्ष मनाउन चितवनका सबै क्षेत्रका व्यवसायीबिच सहकार्य गर्नु पर्छ भन्ने सन्देश पनि दिएको छ,” उहाँले भन्नुभयो । 

यसअघि गत वर्ष माघ ६ गते नवलपुरको मध्यविन्दु–२, अमलटारी भुताहा पोस्ट नजिक तस्कारले आमा बच्चा गरी दुई गैँडा मारेका थिए । चालु आर्थिक वर्ष २०८०/८१ को चार महिनामा यो घटनासहित आठ वटा गैँडा मेरको निकुञ्जमा तथ्याङ्क छ । यसरी मरेकामध्ये तीन वटा चोरी सिकारीले मारेका हुन् । यसअघि अस्थिपन्जर अवस्थामा भेटिएको गैँडा चोरी सिकारीले मारेको अनुमान निकुञ्जले गरेको थियो । निकुञ्जमा सबैभन्दा बढी गैँडा आर्थिक वर्ष २०५८/५९ मा मरेका हुन् । यो बेला मरेका ४८ गैँडामध्ये ३७ वटा चोरी सिकारीले मारेका निकुञ्जसँग तथ्याङ्क छ । सन् २०२१ को गणना अनुसार देशैभर भेटिएका ७५२ वटा गैँडामध्ये चितवन राष्ट्रिय निकुञ्जमा ६९४ गैँडा फेला परेका थिए ।