• १२ साउन २०८१, शनिबार

पर्यटकीय स्थल माइपोखरीमा त्रि–धार्मिक महोत्सव (फोटो फिचर)

blog

इलामको माइपोखरीमा आयोजना गरिएको त्रि–धार्मिक महोत्सव । तस्बिर : कोकिला ढकाल

कोकिला ढकाल

इलाम, मङ्सिर १ गते । इलामको प्रमुख पर्यटकीय स्थल माइपोखरीमा त्रि–धार्मिक महोत्सव आजदेखि सुरु भएको छ । विश्व शान्तिको कामनासहित आगामी मङ्सिर–८ गते सम्म महोत्सव आयोजना गरिएको छ । 

महोत्सवमा सनातन, बौद्ध र किरात धर्मावलम्बीले संयुक्त रूपमा पूजा अर्चना पनि गरेका छन् । रामसार क्षेत्रमा सूचीकृत धार्मिक तथा जैविक विविधताका रूपले महत्त्वपूर्ण मानिने माइपोखरीमा त्रि–धार्मिक महोत्सवमा श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ आयोजना गरिएको आयोजक समितिका संयोजक प्रेम नाछिरिङ राईले बताउनुभयो ।

यसैगरी बौद्ध परम्पराअनुसार लामा गुरुहरूले यहाँ रहेको बौद्ध गुम्बामा पाठ तथा पुर्जा अर्चना र प्रवचन गर्नेछन् । माईपोखरीमा बनाइएको साकेला थानमा किरात धर्मगुरुबाट साकेला पूजा र प्रवचन आठ दिनसम्म चल्ने संयोजक राईले जानकारी दिनुभयो ।

महोत्सवका लागि आज कलशयात्रा निकालिएको थियो । कलश यात्रानजिकै रहेको देउराली बजार, सातखाल्डे परिक्रमा गरी ज्ञान महायज्ञ आयोजना गरिएको स्थलमा ल्याइएको थियो । माइपोखरीलाई पर्यटकीय–धार्मिक केन्द्रका रूपमा विकास गर्ने, धार्मिक सहिष्णुता र बहुधार्मिक तीर्थका रूपमा प्रवर्धन तथा बहुआयामिक अनुसन्धान स्थलका रूपमा विकास गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको जनाइएको छ । 

महोत्सवको सन्दकपुर गाउँपालिकाका अध्यक्ष तुलाराम गुरुङले उद्घाटन गर्नुभयो । २ हजार १२१ मिटर उचाइमा रहेको माइपोखरी मध्यपहाडी क्षेत्रमा पर्ने नेपालकै पहिलो रामसार क्षेत्र पनि हो ।