• ४ जेठ २०८१, शुक्रबार

मगर सांस्कृतिक तथा व्यापार महोत्सव सुरु (फोटो फिचर)

blog

बोमलाल गिरी

नवलपुर, मंसिर १ गते । नवलपुरको कावासोतीमा प्रथम नवलपुर मगर सांस्कृतिक, कृषि, पर्यटन तथा व्यापार महोत्सव सुरु भएको छ । नेपाल मगर सङ्घ, नवलपुरको आयोजनामा सुरु भएको महोत्सव मङ्सिर ११ गतेसम्म चल्ने आयोजकले जनाएको छ ।

महोत्सवको गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री दीपेन्द्रबहादुर थापाले उद्घाटन गर्नुभयो । जिल्लामा पहिलो पटक भएको महोत्सवमा मगरहरूको कला, संस्कृति, भाषा, भेषभुषाको संरक्षणका साथै स्थानीय उत्पादनको प्रदर्शनी र कृषि, पर्यटनको विकासमा टेवा गर्ने नेपाल मगर सङ्घ जिल्ला समन्वय समिति नवलपुरका सचिव नम्सु मगरले बताउनुभयो । 

महोत्सवमा एकसय ५० वटा स्टल राखिएको छ । महोत्सवलाई विशेष झल्को दिनका लागि मगरहरूको पहिचान झल्कने प्रवेशद्वार, मगरहरूले परापूर्वकालमा प्रयोग गर्ने घरका नमुना, भाँडाकुँडाको प्रदर्शनी कक्ष राखिएको छ । त्यस्तै, मगर संस्कृतिभित्रको कौराहा (कान्राह) नाच प्रतियोगिता पनि हुनेभएको छ । 

आयोजकका अनुसार यो नै अहिलेसम्मकै सबैभन्दा ठुलो धनराशिको राष्ट्रिय प्रतियोगिता हो । जसको प्रथम पुरस्कार एक लाख रुपियाँ, दोस्रो पुरस्कार ६० हजार र तेस्रो पुरस्कार ४० हजार रहेको महोत्सवका सांस्कृतिक संयोजक देव गाहा मगरले जानकारी दिनुभयो । 

उहाँका अनुसार प्रतियोगितामा गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न जिल्लाबाट १५ टोलीको सहभागिता रहनेछ । विधिवत् रूपमा नचाइने कौराहा नाचको सुरुवात नै मगर समुदायको बाहुल्यता रहेको गण्डकी प्रदेशबाट भएको मानिन्छ ।  

महोत्सवमा नवलपुर कल्चरल डान्स आइडलको रूपमा सबै जातजातिका सांस्कृतिक नाचहरू पनि प्रतियोगिताको रूपमा समावेश गराइने महोत्सवमा सांस्कृतिक संयोजक मगरले जानकारी दिनुभयो । त्यस्तै, महोत्सवमा लोपोन्मुख अवस्थामा रहेका सोरठी, घाटु र झ्याम्रे नाच पनि देखाइने आयोजकको भनाइ छ ।