• १२ मंसिर २०८१, बुधबार

अष्ट्रेलियामा प्रविधिको सुरक्षित प्रयोगलाई प्रवर्द्धन गर्न पहिलो एआई महिना सुरु

blog

काठमाडौं, मङ्सिर १ गते । अष्ट्रेलियाले प्रविधिको सुरक्षित प्रयोगलाई प्रवर्द्धन गर्न पहिलो एआई महिना सुरु गरेको छ ।

अष्ट्रेलिया सरकारले प्रविधिको सुरक्षित र जिम्मेवार प्रयोगलाई प्रोत्साहन गर्दै बुधबार देशको पहिलो आर्टिफिसियल इन्टेलिजेन्स (एआई) महिना सुरु गरेको हो । उद्योग र विज्ञान मन्त्री एड हसिकले क्यानबेराको अष्ट्रेलियाको राष्ट्रिय विज्ञान र प्रविधि केन्द्र क्वेस्टाकनमा नयाँ एआई प्रदर्शनी खोलेर औपचारिक रूपमा एआई महिनाको उद्घाटन गर्नुभयो ।

एआई महिना नोभेम्बर १५ देखि डिसेम्बर १५ सम्म सञ्चालन हुनेछ । एआई भविष्यका लागि अष्ट्रेलियाको योजनाबारे छलफल गर्न उद्यमीहरू एक ठाउँमा जुटेका छन् । एनएआईसी निर्देशक स्टेला सोलारले यस वर्ष एआईमा भएको द्रुत प्रगतिले अष्ट्रेलियाले एआई अवसरलाई सदुपयोग गर्न र यसको विश्वव्यापी प्रतिस्पर्धालाई गति दिनको आवश्यकतालाई जोड दिएको बताउनु भयो ।

एआई महिनाको अवधिमा अष्ट्रेलियाभरि ४० संस्थाद्वारा आयोजित ५० भन्दा बढी कार्यक्रम, कार्यशाला, प्यानल छलफल, सम्मेलन र ह्याकाथनहरू, एआई अवसरहरू र उत्कृष्ट अभ्यासहरू हाइलाइट गर्नका लागि आयोजित हुनेछन् । सिन्ह्वा/ न्यूज एजेन्सी नेपाल