जुम्ला समाचारदाता
जुम्ला, मङ्सिर १ गते । भूकम्पले प्रभावित जाजरकोटमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको टोलीले मनोपरामर्श र जनस्वास्थ्य शिक्षा दिन थालेको छ । कर्णाली प्रतिष्ठानका जनस्वास्थ्य डिन प्राडा मुनिराज क्षेत्री, जनस्वास्थ्य लेक्चर डा. ओमप्रकाश काफ्ले, मनोपरामर्शदाता नन्दराज आचार्यसहित छ जनाको टोली अहिले जाजरकोटमा खटिएको छ ।
भूकम्प प्रभावितलाई सामाजिक मनोपरामर्श, जनस्वास्थ्य शिक्षा दिन प्रभावित क्षेत्रमा जुम्लाबाट टिम त्यहाँ पुगेर खटिएको प्रतिष्ठानका जनस्वास्थ्य डिन क्षेत्रीले जानकारी दिनुभयो ।
उहाँका अनुसार टोली गाउँबस्तीमा गएर, स्वास्थ्य जाँच, मनोसामाजिक परामर्श, स्वास्थ्य सामग्री वितरण गर्न थालिएको छ । कर्णाली प्रतिष्ठानको जनस्वास्थ्यको टिम अहिले जाजरकोट नलगाड नगरपालिका–३ मा भूकम्पपछिको जनस्वास्थ्यको अवस्था अवलोकन गर्नुका साथै जनस्वास्थ्य र मनोसामाजिक परामर्श दिन थालेको हो ।
कर्णाली प्रतिष्ठानका मनोसामाजिक परामर्शदाता नन्दराज आचार्यले भूकम्पले प्रभावित भएकाको स्वाभाविक रूपमा मनोबल घट्ने बताउँदै यसमा सक्दो परामर्श गर्दै जाने काम भएको उहाँले बताउनुभयो ।
उहाँले प्रभावित क्षेत्रमा प्राथमिक मनोवैज्ञानिक परामर्श, सामूहिक परामर्श र व्यक्तिगत परामर्श गर्न थालिएको बताउनुभयो । टोलीले सबैभन्दा बढी प्रभावित क्षेत्र वडा नं. १ मा पनि पुग्ने बताइएको छ ।
प्रतिष्ठानको टोलीले अमेरिकन नेपाल मेडिकल फाउन्डेसनले सहयोगमा आधारभूत स्वास्थ्य सामग्री, हाइजिन किट (साबुन, ब्रस, ट्ुथपेस्ट, सेनिटरी प्याड, पानीमा हाल्ने पीयूष) समेत प्रभावितलाई वितरण गरिएको छ । डिन प्राडा क्षेत्रीको टोली जाजरकोटको मुख्य प्रभावित क्षेत्रमा घरदैलो र गाउँ पुगेर रुकुमको आठबिसतिर जाने योजना रहेको बताउनुभयो ।